
जनकपुर, फागुन ११
चुरे तथा वन जंगल संरक्षण अभियानीहरू आज देखि अनिश्चितकालिन धर्नामा बसेका छन् ।
विगतमा तीनवटै तहका सरकारले आफूहरूको मुद्दाप्रति गम्भीर नभएकोले बाध्य भएर ‘जनआवाज आन्दोलन’ थालेको चुरे तथा वन जङ्गल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले जनाएका छन् ।
धर्नाअघि ध्यानाकर्षणस्वरुप दिउँसो २ बजेदेखि हजारौंको संख्यामा सहभागी भई स्थानीय भुतही पोखरीबाट जुलुस निकालेर मुख्यमन्त्री कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनसमेत गरेको संयोजक यादवले बताए ।
धर्नामा बसेका प्रदर्शनकारीहरुले माग पूरा नभएसम्म धर्नास्थलमै खाना पकाउने, त्यहि ठाउँमा खाने र धर्नामा बस्ने बताए । उनले माग सम्बोधन नभए सडक आन्दोलन गर्ने चेतावनीसमेत दिए ।
अभियान र मधेस प्रदेश सरकार बीच भएको सात बुँदे सहमती तत्काल कार्यान्वयन गर्न पहल गर्नुपर्ने, अवैध क्रसर उद्योगहरूको गतिविधि उपर तत्काल रोक लगाउन र दिलीप महतोलाई पर्यावरणीय शहीद घोषणा गर्नुपर्ने माग विगतदेखि उनीहरुले राख्दै आएका छन् ।
उनीहरुले वैदेशिक रोजगार सम्बन्धी समस्या समाधान गर्न संविधानको धारा ३३ मा व्यवस्था भए अनुसार सुरक्षित तथा योग्यता अनुसार सुनिश्चित रोजगारीको व्यवस्था मिलाउनुपर्ने र स्थानीय तहको निर्वाचन गैर दलीय प्रतिस्पर्धा अन्तर्गत व्यवस्था मिलाउँदै दलितको लागि राजनीतिक आरक्षण सुनिश्चित गर्न पालिका प्रमुखहरू चक्रीय प्रणालीमा व्यवस्था गर्नका लागि संघ सरकार निर्वाचन कानुन परिमार्जन गरी कार्यान्वयन गरोस् भन्ने पनि हाम्रो माग राखेका छन् ।
उनीहरुले माग पुरा गराउन आगामी दिनमा पनि शान्तिपूर्ण रूपमा धर्ना, दबाब सिर्जना गर्न एक घण्टे चक्काजाम, ग्रास रुट मुभमेन्टको रूपमा गाउँ गाउँमा अभियान लगायत थप सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक गर्ने बताउँदै आएका छन् ।