जनकपुर, फागुन ११
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रको घाँटी निमोठ्ने कार्य असह्य भन्दै आक्रोश पोखेका छन् ।
बिहीबार जनकपुरधाममा आयोजित जनकपुर साहित्य महोत्सव कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति डा. यादवले लोकतन्त्रप्रति आफु समर्पित रहेकाले कसैले चाहेरपनि लोकतन्त्रको घाँटी निमोठय्न नसक्ने बताउँदै उनले जानकी मन्दिरमै राजा महेन्द्रमाथि बम प्रहार गरेका शहिद दुर्गानन्द झालाई स्मरण गरे ।
उनले अमेरिकामा सैयौँ वर्षदेखिको लोकतन्त्रमाथि धावा बोल्न खोजेका त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकतन्त्रमाथि प्रहार गरेको स्मरण गर्दै उनले भने, ‘त्यहाँका जनताले उनलाई नै तह लगाएको इतिहास जगजाहेर रहेको छ ।’
उनले अघि थप्दैँ भने, ‘लोकतन्त्र र गणतन्त्रको स्थापनामा आफ्नो सम्पूर्ण जिवन बितेपनि अहिले पनि डर लाग्छ । अमेरिकाको २४० वर्ष इतिहासमा कसैले पनि लोकतन्त्रको घाँटी निमोट्ने काम गरेका छैनन् । तर, नेपालमा लोकतन्त्रको घाँटी निमोट्ने काम गरियो । त्यसैले युवा पुस्तालाई लोकतन्त्र बचाउन सक्रिय हुनु पर्छ ।’
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तर्फ ईंगित गर्दै भने, ‘प्रतिनिधिसभा विघटन गरि लोकतन्त्रको घाँटी निमोठ्ने कार्य गरेपनि यहाँका जनता, साहित्यकार, पत्रकारलगायत हरेक क्षेत्रका अगुवाहरुले लोकतन्त्रका लागि सडकमा उत्रिएकै कारणले र अदालतले पनि लोकतन्त्रकै पक्षमा फैसला गर्दै आएकाले कसैले चाहदैँमा लोकतन्त्रका लागि खतरा आफै तुहिएर जानेछ ।’
पूर्व राष्ट्रपति यादवले देशमा आएको लोकतन्त्र ८ दशकको उपलब्धि रहेकोले यसलाई सबैले चनाखो भएर बचाएर राख्नुपर्ने आवश्यकता रहेको बताउँदै आफ्नो सन्ततीको भविष्य सुरक्षित गर्न आग्रह गरे ।
उनले जनकपुरधामको बाँकी रहेका धरोहरहरु यहाँका मठमन्दिर, पोखरी, सरोवरलाई बचाएर राख्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले पर्यावरण अभियन्ता दिलीप महतोको मृत्यु कुन कारणले भएको हो भन्ने कुरामाथि विचार पुर्याउँदै ‘दिलीप महतोके मोन पाडैत’ भन्ने शेसनमाथि गम्भीर ध्यानाकर्षण गराए ।
यस्तो छ जनकपुर साहित्य महोत्सवको तालिका
जनकपुरधाममा आजदेखि तीन दिवसीयसम्म चल्ने चौथो संस्करणको ‘जनकपुर साहित्य महोत्सव’ सुरु भएको छ । यस महोत्सवको चौथो संस्करण १३ गतेसम्म चल्ने छ ।
०७६ सालदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवमा यस वर्ष साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी विभिन्न २० वटा ओपन–एयर प्यानल छलफल हुने आयोजकले जनाएको छ ।
साहित्यिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवमा तिन दिनसम्म देशभरिका ख्याति प्राप्त स्रष्टाहरूको सहभागिता रहने छ ।
महोत्सवमा ‘समावेशिताः परिकल्पना र अभ्यास’, ‘अपन समाजके घुइरक तकलापर’, ‘घेघ बनल घोघ’, ‘युवा ः संस्कार र परिष्कार’, ‘सहिद दिलीप महतोके मोन पाडैत’, ‘सञ्जालको बवाल’, ‘राजनीति ः अभियान आ अवसर’, ‘सम्झनामा प्रदीप दाइ’, ‘हामीले गुमाएको खेलकुद’ र विभिन्न अन्य विधालाई समेट्दै २० भन्दा बढी सत्रहरू रहको छ ।
यसको अन्तिम दिन फागुन १३ गते भारतका चर्चित गायिका मैथिली ठाकुरले पनि सांगीतिक प्रस्तुति दिने छन् ।