जनकपुर, फागुन १२

अवैध उत्खनन बिरुद्ध गरिरहेको भन्दै रोक्न गएका दिलीप महतोको हत्यामा संलग्न २ जनालाई २५ वर्ष कैदको फैसला सुनाइएको छ ।

धनुषा जिल्ला अदालतले महतोको हत्यामा संलग्न २ जनालाई २५\२५ वर्ष र एक जनालाई १२ वर्ष कैद सजाय फैसला सुनाएको हो ।

दिलीपको हत्यामा संलग्न विपिन महतो र मुनिन्द्र महतोलाई २५\२५ वर्षको सजाय सुनाइएको छ भने कसूरदार ठहर भएका जितेन्द्रकुमार महतोलाई १२ वर्ष कैद सजाय सुनाइएको जिल्ला अदालत धनुषाका श्रेस्तेदार विकास बस्नेतले जानकारी दिए ।

जितेन्द्रलाई २ लाख ५० हजार जरिवाना समेत गरिएको छ । विपिन र मुनिन्द्रलाई ५\५ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

त्यो रकम पीडित परिवारलाई उपलब्ध गराउनुपर्ने फैसलामा भनिएको श्रेस्तेदार वस्नेतले बताए ।

उनीहरुले जरिवाना बुझाउन नसके राज्यकोषबाट क्षतिपूर्ती उपलब्ध गराउनु पर्ने फैसलामा भनिएको छ ।

न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले फैसला गरेको थियो ।