जनकपुर, फागुन १२

मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री इन्जिनियर बसन्त कुशवाहाले आफ्नो एक महिना अवधिसहित विगतका मन्त्रीले गरेका कामकारवाहीको समिक्षा गरेका छन् ।

आज आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुशवाहाले यसअघिका मन्त्रीले मन्त्रालयलाई कार्यकर्ता भर्तिकेन्द्र बनाएको आरोप समेत लगाए ।

उनले आफ्नो एक महिने कार्यप्रगति विवरण सार्वजनिक गर्दै विगतमा यस मन्त्रालयबाट भएका विभिन्न गलत कामकारवाहीको भण्डाफोर पनि गरेका छन् ।

डिपिआर प्राविधिक रुपले गलत रहेको बताउँदै उनले यसमा कपीपेष्ट डाटाहरु राखेर गरिएको काम त्रुटीपूर्ण रहेको बताएका छन्
मन्त्रालयबाट भएका अधिकांश पछिल्ला प्रोजेक्टहरु अधुरो डिपिआरको भरमा सुरु भएकोले त्यस्ता प्रोजेक्टहरुलाई उनले पूनः मूल्यांकन गर्ने भएका छन् ।

कृषि सडकका लागि १५\१५ लाख रुपैयाँ विना आधार छुट्याएर रकमको सदुपयोग नभएको उनको भनाई छ ।

मन्त्री कुशवाहाले अबको पाँच वर्षमा प्रदेशमा भएका नदीनालाहरुबाट हुनसक्ने सिचाईंलाई प्राथमिकतामा राख्दै विद्युत प्राधिकरणले पोल गाड्न सक्ने ठाउँमा स्टेट बोरिङ्ग गर्ने र जुन ठाउँमा स्टेट बोरिङ्ग गर्न मिल्दैन त्यो ठाउँमा सोलार एरिगेशन सिस्टम गर्ने जनाएका छन् ।

मन्त्री कुशवाहाले कृषि विद्युतिकरण पनि सुरु भइसकेको बताउँदै मन्त्रालय र यस मातहतका कार्यालयहरुमा १२२ जना स्थायी कर्मचारी आवश्यक रहेकोले कर्मचारी पदपूर्तिका लागि मधेस लोकसेवा आयोगसँग समन्वय भईरहेको बताए ।

उनले एक महिनामा गरेका विभिन्न कामकारवाहीलाई समेटेर १० बुँदे उपलब्धी हासिल गरेको समेत दावी गरेका छन् ।