जनकपुर, फागुन १४
आठ दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना लागि संसद भवनमा पुग्ने दाउमा लागिपरेका छन् । यसपटक सप्तरीबाट प्रतिनिधिसभा सदस्यमा पराजित उपेन्द्र फेरि संसद्मा पुग्ने जोडघटाउमा लागेका छन् ।
शुक्रबार साँझ बनेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रस, जसपा नेपाल, जनमत पार्टीसहितको आठदलीय गठबन्धनमा उपराष्ट्रपति जसपालाई दिने सहमति भएको थियो । जसपाबाट उपेन्द्र यादवले उपराष्ट्रपतिका लागि बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं संसदीय दलका नेता रामसहाय यादवलाई अगाडि सार्ने तयारी गरेका छन् ।
गठबन्धनसँग प्रष्ट बहुमत रहेकाले रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित हुने जस्तै छ ।यसो भएमा बारा–२ मा प्रतिनिधिसभा सदस्यको पद रिक्त हुने छ ।
मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा उपेन्द्र सप्तरी–२ बाट पराजित भएका थिए । उनलाई जनमतका अध्यक्ष डा. सीके राउतले दोब्बरभन्दा बढी मतले पराजित गरेका थिए। यही निर्वाचनबाटै उपेन्द्रको अविजित संसदीय यात्रामा विराम लागेको थियो । रामसहाय यादवलाई उपराष्ट्रपति बनाउन सफल भएमा उपेन्द्र फेरि पनि संसद् प्रवेश गर्न सहज हुनेछ ।
०६३ सालको मधेश आन्दोलनपछि दलीय राजनीतिमा आएका उपेन्द्रको अविराम संसदीय यात्रामा विराम लागेसँगै मधेश राजनीतिमा सीके राउतको उदय भएको थियो । यसबाट मधेशकेन्द्रित राजनीति नै नयाँ ढंगले बढ्ने आकलन गरिएको थियो। तर, तीन महिना नबित्दै यादवले फेरि संसदीय राजनीतिमा आफ्ना लागि पुनरागमनको बाटो भेट्टाएका छन् ।
पहिलो संविधानसभा निर्वाचनदेखि निरन्तर निर्वाचन जित्दै आएका अध्यक्ष यादव २०७९ को निर्वाचनअघि मधेश मुद्दा अघि सारेर सत्ता–शक्तिमा सबैभन्दा धेरै अवसर पाउने नेता हुन् । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि बनेको आठ दलीय मोर्चाबन्दीले उपराष्ट्रपति जसपाले पाउने भएपछि अध्यक्ष यादवले आफ्ना सहज बाटो देखेका छन् ।
जसपा नेपालका प्रवक्ता मनिस सुमनले जसपाबाट उपराष्ट्रपति उम्मेदवार रामसहाय यादवको सम्भावना रहेको बताएपनि यसका लागि पार्टी बैठकबाट निर्णय हुन बाँकी रहेको बताएका छन् ।
आठदलीय गठबन्धनसँग राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि कूल मतभारको करिब ६१ प्रतिशत मतभार रहेको छ । जसपाले रामसहायलाई नै उम्मेदवार बनाएमा र उनी उपराष्ट्रपति निर्वाचित भएमा रिक्त हुने निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि उम्मेदवार को बन्छ भन्ने विषय भने पछिको कुरा रहेको उनले बताए ।
मंसिर ४ को निर्वाचनमा बारा–२ बाट जसपा नेपालका रामसहाय यादवलाई एमालेले सघाएको थियो ।
