जनकपुर, फागुन १४

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको समस्या समाधानका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

आइतबार जनकपुरधाममा अध्यक्ष नेपालले एमाले लगायतका सबै राजनीतिक दलहरू मिलेर जानुपर्ने बताएका हुन् ।

उनले संकटको बेलामा सबै दलले हातेमालो गर्दा राम्रो हुने बताउँदै विचार, सिद्धान्त, नीति, कार्यक्रम सबै मिल्ने पार्टीसँग एकताबद्ध भएर जान सकिने धारणा राखे ।

उनले, ‘नेपालमा जस्तो किसिमका चुनौती देखिएका छन्, ती चुनौती सामना गर्न सबै राजनीतिक दल एकजुट भएर जानुपर्छ,’ उनले अघि थप्दैँ भने, ‘सबै मिल्नुपर्छ, त्यसमा एमाले पनि मिलेर जानुपर्छ ।’

उनले आफूले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका कुराहरू अनुमानका कुराहरू मात्रै भएको दावी गरे ।

वामपन्थी शक्तिहरूसँग मिलेर जानका लागि आफूहरूले आह्वान गरिरहेको भन्दै अध्यक्ष नेपालले एजेण्डा मिल्नेसँग सहकार्य गर्न तयार रहेको बताए । उनले विचार, मन, भावना, संगठनलगायतका सबै कुरा मिल्यो भने संगठनसँग एकताबद्ध हुन सकिने स्पष्ट पारे ।