जनकपुर, फागुन १४

जनकपुरधामबाट एक कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरिएको छ भने अर्को ठाउँबाट भरुवा बन्दुक बरामद भएको धनुषा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा हंसपुर नगरपालिका वडा नम्बर ४ बस्ने २२ वर्षीय भरोस पासवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिप्रका धनुषा र प्रहरी चौकी कपिलेश्वरबाट खटेको गस्ति टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ स्थित तेतरिया बजारबाट उनलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेद प्रकाश गौतमले जनाएका छन् ।

अभियूक्त पासवानमाथि शंका लागेर शरिर खानतलासी गर्दा उनको ज्याकेटको खल्तीबाट कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली १ राउण्ड बरामद भएको प्रहरी नायब उपरीक्षक गौतमले बताए ।

हतियारसहित पक्राउ परेका पासवानलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर हातहतियार तथा खरखजाना मुद्दा शिर्षकमा म्याद लिई थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।

त्यस्तै प्रहरी चौकी चिसापानीबाट गस्तिमा खटेको प्रहरी टोलीले धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ सेलारस्थित जंगलबाट १ थान १२ वोरको भरूवा बन्दुक वेवारिसे अवस्थामा बरामद गरेको उनले बताए ।

बरामद भएको भरूवा बन्दुक बारे थप अनुसन्धान भईरहेको छ भने सोका लागि ईलाका प्रहरी कार्यालय ढल्केवरमा राखिएको जनाइएको छ ।