जनकपुर, फागुन १६

पाँच दिन देखि जनकपुरधामको जनक चोकमा धर्ना दिदैँ आएका चुरे तथा वन जंगल संरक्षण अभियानको आन्दोलनलाई समर्थन मिल्न थालेको छ ।

अभियानीहरुले ५ सुत्रीय माग राख्दै शुरु गरेको अनिश्चितकालिन धर्नामा राष्ट्रिय एकता अभियानले ऐक्यवद्धता जनाएको छ । चुरे अभियानीहरु विभिन्न माग राख्दै धर्नामा बसेको स्थल जनक चोक पुगेर अभियानका संयोजक यादवले ऐक्यवद्धता जनाए ।

उनले हरेक नेपाली नागरिकले संविधानमा व्यवस्था भए अनुसार मौलिक हक उपभोग गर्न पाउने अधिकार रहेकाले भूमिहिनहरुले थालेको आन्दोलन जायज रहेकोले समर्थनसहित ऐक्यद्धता गरेको बताए ।

हरेक भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउनु राज्यको दायित्व रहेको उनले स्पष्ट पारे । उनीहरुको माग सम्बोधन नभएसम्म आन्दोलनले भयावहरुप लिने अभियानका संयोजक यादवले चेतावनी दिए ।

अभियानीहरुले विगतमा तीनवटै तहका सरकारहरू आफूहरूको मुद्दाप्रति गम्भीरतापूर्वक नलिएकाले फागुन ११ गते बिहीबारदेखि बाध्य भएर ‘जनआवाज आन्दोलन’ थालेको चुरे तथा वन जङ्गल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले जनाएका छन् ।

संयोजक यादवले धर्नाअघि ध्यानाकर्षणसहित मुख्यमन्त्री कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय धनुषा अगाडी प्रदर्शनसमेत गरेको बताए ।
आन्दोलनकारीहरुले पाँच दिनदेखि धर्नास्थलमै खाना पकाउने, त्यहि ठाउँमा खाने र धर्ना बसिरहेका छन् ।

संयोजक रायले चुरे तथा वन जङ्गल संरक्षण अभियान र मधेस प्रदेश सरकारबिच भएको ७ बुँदे सहमति तत्काल कार्यान्वयन गर्न पहल गर्नुपर्ने, अवैध क्रसर उद्योगहरूको गतिविधि उपर तत्काल रोक लगाउन र दिलीप महतोलाई पर्यावरणीय शहीद घोषणा गर्नुपर्ने माग राखेका छन् ।

भूमिहीन तथा सुकुम्वासीको आवासको हक मौलिक हकको रूपमा धारा ३७ मा व्यवस्था भएकोले राज्यले गम्भीरताका साथ संविधानको कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने आफूहरूको माग राखेर धर्नामा छन् ।

संयोजक यादवले वैदेशिक रोजगार सम्बन्धी समस्या समाधान गर्नका लागि संविधानको धारा ३३ मा व्यवस्था भए अनुसार सुरक्षित तथा योग्यता अनुसार सुनिश्चित रोजगारीको व्यवस्था मिलाउनुपर्ने र स्थानीय तहको निर्वाचन गैर दलीय प्रतिस्पर्धा अन्तर्गत व्यवस्था मिलाउँदै दलितको लागि राजनीतिक आरक्षण सुनिश्चित गर्न पालिका प्रमुखहरू चक्रीय प्रणालीमा व्यवस्था गर्नका लागि संघ सरकार निर्वाचन कानुन परिमार्जन गरी कार्यान्वयन गर्न माग गर्दै आएका छन् ।

अभियानीहरुले फागुन ११ गतेदेखि नै जनक चोकमा धर्ना दिइरहेका छन् ।