जनकपुर, फागुन १६

मधेश प्रदेशको राजधानी जनकपुरधाममै भ्रष्टाचारको चरम नमूना देखिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख मनोजकुमार साह निर्वाचित भएको उन्मादमा उनले विभिन्न खाले हत्कण्डा अपनाउँदै स्वकीय सचिवको नाममा ब्रह्मलुट नै मचाईरहेको आरोप लागिरहदाँ उनी विरुद्ध अख्तियारमा उजुरी परेको छ ।

जनकपुरधामका नगरप्रमुख साहले गैरकानूनीरुपमा नियूक्त गरेका स्वकीय सचिव राजन कुमार सिंहलाई विभिन्न शाखाको शाखा प्रमुखको जिम्मेवारी दिदैँ कर्मचारीलाई बेवास्ता गर्दै व्यापक हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

नगर प्रमुख साहले धनुषाको हंसपुर नगरपालिका वडा नम्बर–९ स्थायी घर भएका सिंहलाई तत्कालिन अवस्थामा सोही कार्यालयमा गैरकानूनी करार बमोजिम छैठौं अधिकृत तहमा नियुक्ति दिएको भन्दै दुबैजनाविरुद्ध अख्तियारमा दिएको उजुरीमा उल्लेख छ ।

नगर प्रमुख साहले आफ्नो अधिकारको दुरुपयोग गरी सिंहलाई स्वकीय सचिव, छैठौं तहमा नियुक्त गरेको कार्य आफैंमा गैरकानूनी एवं बदनियतपूर्ण रहेको भन्दै सिंहले जेठ १२ गतेदेखि स्वकीय सचिवको हैसियतमा थप जिम्मेवारी दिइएको थियो । सो अनुसारको हैसियत बमोजिमको तलव भत्ता, अन्य सुविधासमेत राज्यकोषमा फिर्ता हुने गरी दुबैजनालाई भष्टाचार मुद्दामा अख्तियारको ऐन २०४८ बमोजिम कारवाही तथा सजायको माग गरिएको छ ।

‘जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले आफैंले बनाएको कार्यविधिको अनुसूची ९ (क) मा उपमहानगरको कार्यकारिणी पद र महाशाखा, शाखा केन्द्र समेतलाई कायम गरिएको छ । उपमहानगर आफैंले कायम गरेको पद÷दरवन्दीको क.सं. क (१) मा नगर प्रमुखको सचिवालयमा हुने पद÷दरवन्दीको व्यवस्था गरेको छ । जस अनुसार अधिकृत (निजी सचिव), ईन्जिनियर (स्वकीय सचिव), वरिष्ठ सहायक (निजी सचिव) सहायक कम्प्यूटर अपरेटर हुने भन्ने रहेको छ । नगर प्रमुख साहको हकमा उक्त अनुसुचीमा अन्य पद÷दरवन्दीको व्यवस्था नै छैन । तर यसरी सम्बन्धित पदाधिकारीले तोकिए बमोजिमको पद दरवन्दीमा बाहेक कसैलाई राज्यको कोषवाट रकम भुक्तानी हुने गरी नियुक्ति गर्नु वा राख्नु आफैंमा गैरकानूनी हो । यसका साथै पदीय दुरुपयोग समेत भएकोले यस्तो गैरकानूनी नियुक्ति गर्ने पदाधिकारी र नियूक्ती हुने व्यक्ति दुवैबाट भएको कार्यलाई मान्यता नदिई कारवाही प्रक्रिया अघि बढाउन माग गरिएको छ ।

कानूनी व्यवस्था विपरित नगर प्रमुख साहलाई कुनै पनि कानूनले स्वकीय सचिव नियुक्त गर्ने अधिकार नै नदिएको अवस्थामा आफ्नो पदको दूरुपयोग गर्दै अहिले स्वकीय सचिवको पदबाट राजिनामा दिएको बताउँदै आएका सिंहलाई नियुक्त गरेको थियो । भने उनको सो कार्यबाट राज्य कोषको दोहन हुनुका साथै उपमहानगरमा कार्यरत कर्मचारीहरुको मनोबलर भावनामा समेत चोट पुर्याइएको सो उजुरी पत्रमा जनाइएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा स्थायी कर्मचारी तथा विज्ञसमेत रहदाँरहदैँ करारमा नियुक्ती पाएका व्यक्तिलाई दुईवटा शाखाको प्रमुखको जिम्मेवारी दिनुबाट पनि नगर प्रमुख साहको मनसाय प्रष्ट देखिएको छ भने यसरी जिम्मेवारी दिनुपर्ने कारण आधार समेत नखुलाइएको जनाइएको छ ।

जनताको करबाट सञ्चालित राज्य र सोको निकायको रुपमा रहेको जनकपुरधाममा उपमहानगरपालिकालाई आफ्नो स्वार्थ पूरा हुने किसिमले निजी सम्पति जस्तो सञ्चालन गर्ने अधिकार नगर प्रमुख साहलाई छैन ।

स्वकीय सचिव सिंहले पारिवारिक समस्यालाई आधार बनाएर फागुन ३ गतेमा राजीनामा दिएको भन्दै सामाजिक सञ्जालमा पत्र नै सार्वजनिक गरेका थिए ।

नगरप्रमुख साह आफुलाई स्वतन्त्र बताउँदै आएपनि उनले नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल प्रेस यूनियन धनुषाका अध्यक्ष सिंहलाई स्वकीय सचिव पदमा गैरकानूनी नियूक्ति दिएपछि कार्यालयका कर्मचारीहरु पनि असन्तुष्टी जनाउँदै क्रुद्ध बनेका छन् ।