जनकपुर, फागुन १७

खेलको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सांसद जुली महतोले खेलाडीहरुको पलायन रोक्न तर्फ ध्यान दिनु आवश्यक रहेको बताएकी छन् । खेलाडीमाथि सरकारको ध्यान नपुग्दा प्रतिभावान खेलाडी पलायन भएको उनले उल्लेख गरिन् । ‘खेल र खेलाडीमाथि राज्यको ध्यान नपुगेको महसुस भइरहेको छ,’उनले भनिन्,‘जसले गर्दा प्रतिभावान खेलाडीहरु पलायन भइरहेको छ ।’

खेल र खेलाडीको साथ रहने उनले प्रतिबद्धता गरिन् । प्रदेश सरकारले पाँच वर्षमा एउटा स्टेडियम पनि बनाउन नसक्नु दुखद रहेको उनको कथन छ । जनकपुरधाम उपमहानगरपालिका रजौल स्थित निर्माणाधिन रामजानकी रंगशालाको काम द्रुत गतिमा अगाडि बढाउन पहल गर्ने उनले बताइन् ।

यता पहिलो खेल आज देखि सुरु भएको अन्तर कलेजस्तरिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा मिथिला इन्सिटच्युट अफ टेक्नोलोजी (मिट)ले जित निकालेको छ । धनुषा साइन्स क्याम्पसलाई ३ विकेटले पराजित गर्दै मिटले प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

धनुषा साइन्स क्याम्पसले दिएको १ सय ५ रनको लक्ष्य मिटले ७ विकेटको क्षतिमा पूरा गरेको थियो । मिटका लागि धिरज यादवले १९, शशिले १५ र रोहित यादवले १४ रनको योगदान गरेका थिए । धनुषा साइन्सको तर्फबाट बलिङमा कृष्णा यादव र अमरुल्लाह साहले तीन÷तीन विकेट लिएका थिए ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको धनुषा साइन्स क्याम्पसले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४ रनको स्कोर खडा गरेको थियो । धनुषा साइन्सकालागि उदय यादवले २९, अमरुल्लाह साहले १६ रन बनाएका थिए । मिटका लागि राजा साहले तीन, तेजस मण्डल र शशिकान्त ठाकुरले २÷२ विकेट लिएका थिए ।
खेलको म्यान अफ दी म्याच शशीकान्त ठाकुर भए ।