सिरहा, फागुन २१

लामो समयदेखि तलब नपाएपछि आन्दोलनमा उत्रिएका सरसफाई कर्मचारीलाई सिरहा नगरपालिकाकाले प्रहरी लगाएर कुटपीट गरेका छन् ।

सरसफाई कर्मचारीले होली पर्व आउदाँ समेत तलब नपाएको भन्दै आन्दोलनमा उत्रिदैँ सडक भरि फोहोर फ्यालेर नगरपालिकाको विरोधमा प्रदर्शन गरेका थिए । भने नगरपालिकाको बारुण यन्त्रले सडकमा सरसफाई कर्मचारीहरुलाई लक्षित गर्दै पानी छर्केपछि केहीबेरसम्म आन्दोलन मत्थर भएको थियो । सो क्रममा प्रहरीले बल प्रयोग गर्दै सरसफाई कर्मचारीहरुमाथि लाठीसमेत प्रहार गरेका थिए ।

सरसफाई कर्मचारीहरु भने प्रहरीमाथि झाडु लिएर प्रतिकार समेत गरेका थिए । झडपका क्रममा एक प्रहरीको टाउँकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

आन्दोलनमा उत्रेका सरसफाई कर्मचारी सुनिल मेस्तरले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गर्नु दुःखद रहेको बताए । तलब माग्दा नगरपालिकाले प्रहरी लगाएर दमन गरेपछि प्रतिकार गर्नु परेको बतउदैँ उनले प्रहरीले कडारुपमा दमन गरेमा कडा आन्दोलनमा उत्रिने चेतावनी पनि दिए ।

चार महिनादेखि तलबभत्ता नदिएको र पटक पटक ताकेता गर्दा पनि बेवास्ता गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनले बताए ।

सिरहा नगरपालिकामा करिब ५० सरसफाई कर्मचारी कार्यरत्त रहेका छन् । उनीहरुलाई समयमा तलबभत्ता नदिएपछि गुजारा गर्न पनि समस्या भईरहेको गुनासो गरेका छन् ।