जनकपुर, फागुन २८

सप्तरीको राजविराजमा दिउँसै रक्सी सेवन गरि सडकमा हंगामा गरेको आरोपमा प्रहरी जवान संजिवकुमार राय निलम्बनमा परेका छन् ।

शुक्रबार उनले रक्सी सेवन गरेर चेकजाँच गर्न थालेपछि स्थानीयवासीले उनलाई प्रतिवाद गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत्त प्रहरी जवान रायले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडी सवारी चेकजाँच गर्ने क्रममा विवाद गरेका थिए भने अर्धनग्न भई सडकमा दौडिरहेको भिडियोसमेत समाजिक संजालमा सार्वजनिक भएको थियो ।

सो घटना पछि प्रहरी जवान राय निलम्बनमा परेका छन् । उनीमाथि अनुसन्धान गरिरहेको सप्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

उनले प्रहरीजवानसहित विवाद र दुर्व्यवहार गर्ने घटनामा संलग्न ६ जना व्यक्तिलाई समेत पक्राउ गरेको बताए ।

उनको भिडियो फुटेजको आधारमा पहिचान गरी सो घटनामा संलग्न रहेका अरुलाई पनि पक्राउ गरी अनुसन्धान गर्ने प्रवक्ता सिंहले बताए ।

उनीहरुलाई पनि कारबाही गर्ने प्रक्रिया प्रहरीले अघि बढाएको उनले बताए ।