जनकपुर, फागुन २८

धनुषाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको थुनुवा कक्ष फोडेर फरार रहेका एक थुनुवा लामो समय पछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर ७ का ३६ वर्षीय शंकर महतो रहेको धनुषा प्रहरीले जनाएको छ ।

उनलाई शनिबार पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ को इनर्वास्थित भन्सार हुँदै लुकीछिपी नेपालबाट भारततर्फ भाग्ने क्रममा पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

May be an image of 1 person

माघ १२ गते उनी हातहतियार खरखजाना मुद्दामा मिथिला नगरपालिका वडा नम्बर २ स्थित नक्टाझिजबाट पक्राउ परेका थिए । गत फागुन १५ गते राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर ६ जना थुनुवा फरार रहेका थिए । यसअघि चारजनालाई भागेको एकसातामै धनुषा प्रहरीले पक्राउ गरेको थियो ।

सो घटना पछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरी कार्यालयले संयुक्त प्रहरी टोली परिचालन गरी सर्च अपरेसन नै चलाएको थियो । खोजतलास गर्ने क्रममा घटनाकै भोलिपल्ट पुस १६ मा हातहतियार तथा खरखजाना मुद्दाका मिथिला नगरपालिका ६ का २८ वर्षीय रोशन महतो, फागुन १७ गते शान्तिसुरक्षा विरुद्धको मुद्दाका अभियुक्त क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ बस्ने २५ वर्षीय हरिदिप सिंह र २५ वर्षीय अमित मण्डलाई पक्राउ गरेको थियो । त्यस्तै लागूऔषध मुद्दाका अभियुक्त १८ गते राति क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ का ३९ वर्षीय विनोद कुमार शर्मालाई धनुषा प्रहरीले पक्राउ गरेको थियो । भने अझैपनि एकजना थुनुवा फरार नै रहेका छन् ।