तलब नपाउँदै कर्मचारी पीडित

जनकपुर, फागुन २८

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साहका कारण कर्मचारीहरु असन्तुष्ट बनेका छन् । जसकारण उनी विरुद्ध कर्मचारीहरूले कार्यालयमा तालाबन्दी गरेका छन् ।

अध्यक्ष साहको मनोमानीले गर्दा आफूहरूले विगत पाँच महिनादेखि तलब पाउन नसकेको भन्दै कर्मचारीहरूले कार्यालयमा ताला लगाएका छन् ।

प्रशासकीय अधिकृत जितेन्द्र कुमार यादवले आफूहरू कार्तिक महिनादेखि नै तलब पाउन नसकेकाले घरपरिवार चलाउन समस्या भएको हुँदा बाध्य भएर कार्यालयमा तालाबन्दी गरेको बताए ।

उनले बृहत्तरका अध्यक्ष साहले संस्थाको उद्देश्यविपरीतका कामहरू गरिरहेको बताउँदै उनको कार्यशैलीबाट कर्मचारीहरू पनि पीडित रहेको गुनासो गरे ।

अध्यक्ष साहले सम्पूर्ण कार्यकारी अधिकार आफूसँगै राखेको र कार्यालयको दर्ता चलानी पनि प्रशासन मातहत नभई अध्यक्षको सचिवालय मार्फत भईरहेकाले कर्मचारीलाई काम गर्ने वातावरण समेत नरहेको उनको भनाई छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको यस संस्थाले मन्त्रालयसँग समयमा तलब निकासाका लागि माग नगरेकाले यस्तो अवस्था उत्पन्न भएको उनले बताए ।

संस्था मातहतका १५\२० वटा योजनाहरूमध्ये आर्थिक मसान्त समाप्त हुन ४ महिना बाँकी रहँदासम्म कुनैपनि योजनाको काम शुरुवातसमेत हुन नसकेको उनले बताए ।

बृहत्तरले समयमा प्रगति विवरणसमेत पेश नगरेकोले तलब निकासामा समस्या भएको स्पष्ट पार्दै यादवले आफूहरू दशैं, तिहार र छठजस्तो पर्वमा पनि तलब पाउन नसकेको बताए ।

अध्यक्ष साहले एक नम्बरमा रहेका नासु संजय कुमार मण्डललाई नभई उनीभन्दा कनिष्ठ नासु अशोक कुमार ठाकुरलाई लेखापालको जिम्मेवारी दिएकोले अध्यक्षकै निर्देशनानुसार नियमविपरितका कामकारवाहीहरु लेखापालले गरिरहेको जितेन्द्रले बताए ।

फागुन ५ गते बृहत्तरका अध्यक्ष साहको अध्यक्षतामा कर्मचारी बैठकमा निर्णय भए अनुसार कर्मचारीको तलब होली पर्व अगाडी निकासा गरिने निर्णय सर्वसम्मतबाट गरिएपनि हालसम्म तलब नखुवाएको उनी बताउँछन् ।

यस आर्थिक वर्षमा हुने पूँजिगत काम सम्बन्धी योजना शाखाको काम हालसम्म शुन्य रहेको र प्राविधिक शाखामा खटिएको कर्मचारीहरूको म्याद थप नगरेकोले सम्बन्धित निकायबाट निकासा लिन जाँदा प्रगति समेत नदेखिएकाले हालसम्म दोस्रो र तेस्रो निकासा नदिइएको उनले बताए ।

अध्यक्ष साहले आर्थिक वर्ष २०७९\०८० मा चाडपर्व शिर्षकमा मात्र ३ लाख रुपैयाँ विनियोजन भएकोमा आफुखुशी २५ लाख रुपैयाँ आन्तरिक कोष तथा पूँजिगत शिर्षकबाट खर्च गरेको कर्मचारीहरूको आरोप छ ।

न्धन शिर्षकमा ३ लाख रुपैयाँ विनियोजन भएकोमा पूँजिगत कार्य शुन्य रहेतापनि आफुखुसी करिब ५–७ लाख रुपैयाँ खर्च गर्नुका साथै सम्पर्क कार्यालय काठमाण्डौमा नरहेपनि बृहत्तरका लेखापाललाई अध्यक्ष साहले काठमाण्डौमा सरुवा गरेको यादवले खुलासा गरे ।

No photo description available.

जानकी मन्दिर नजिक रघुपति मिष्ठान भण्डारको छेउमा डिजिटल डिस्प्ले वोर्ड योजना स्वीकृत नभई आफुखुसी जडान गराउनुका साथै प्रचारप्रसारका लागि अन्य व्यक्तिको नम्बर उल्लेख गरिएको पनि खुलाए ।

निमित्त कार्यकारी निर्देशक चिरन्जीवीराज ढुङ्गानाले पेश्की स्वरुप नियम विपरित २ लाख रुपैयाँ लिई आफ्नो निजी काममा खर्च गरेको र कर्मचारीको तलब दिन आनाकानी गरिरहेको बताए ।

आर्थिक वर्ष २०७९\०८० को कार्यक्रमहरू LIMBS मा ईन्ट्री भइसकेका योजनाहरू आफुखुसी परिवर्तन गर्न चाहेकाले हालसम्म पूँजिगतको प्रगति शुन्य रहेपनि २०\२५ प्रतिशत प्रगति देखाइएको कर्मचारीहरूको दाबी छ ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा कार्यरत्त रहेका २४ जना कर्मचारीले लामोे समयदेखि तलब पाएका छैनन् ।