जनकपुर, फागुन ३०

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव मातृकाप्रसाद यादवले मधेश प्रदेश कमिटीको बैठक बहिस्कार गरेका छन् ।

माओवादी केन्द्र मधेस प्रदेश कमिटीको तीन दिनसम्म चलेको बैठकमा पूर्वृमन्त्री यादव बैठकमा भने अनुपस्थित भएका हुन् ।
पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा गत शुक्रबारदेखि तीन दिनसम्म चलेको बैठकमा नेता यादव सहभागी भएनन् । मधेस प्रदेशमा विवाद हुँदा प्रदेश कमिटी समेत बन्न सकेको छैन । प्रदेशका इन्चार्ज गणेश साह र अन्य सबैलाई जिम्मेवारीबाट मुक्त गर्दै सदस्यको जिम्मेवारीमा मात्रै छन् ।

अधिकांश जिल्ला र स्थानीय तहमा नेतृत्व नहुँदा माओवादी कमजोर भएको छ । जसले गर्दा सङ्घीय संसद्मा शून्य भयो भने प्रदेश र स्थानीय तहमा निक्कै कमजोर भएको हो ।

मधेस प्रदेश कमिटीको बैठकमा पार्टीका पदाधिकारी सहित स्थायी समिति, केन्द्रीय सदस्य र प्रदेश सदस्यहरू सहभागी थिए ।

तर बैठकमा नेता यादव सहभागी नभएपछि प्रधानमन्त्री प्रचण्डले समेत आक्रोशित रहेको एक नेताले बताए ।

मधेसमा नेता गिरिराजमणि पोखरेल र नेता यादवबिच विवाद हुँदा पार्टी कमजोर भएको अधिकांश नेताहरुको बुझाई रहेको छ ।
नेता यादव बिरामी भएकाले अनुपस्थित भएको पार्टी केन्द्रीय सदस्य अजयशंकर नायकले बताए ।

यता उपमहासचिव यादवले बैठक बेला आफू गृह जिल्ला धनुषा गएकाले उपस्थित हुन नसकेको बताए ।