जनकपुर, चैत १

धनुषा प्रहरीले विभिन्न सरकारी कार्यालयबाट विचौलियाको आरोपमा पक्राउ गर्दै सार्वजनिक गर्न थालेपछि अहिले लेखापढी व्यवसायीहरु आन्दोलित भएका छन् ।

करिब दुई महिनाको अन्तरालमा धनुषा प्रहरीले ६ जना लेखापढी व्यवसायीलाई विचौलियाको आरोपमा पक्राउ गरि सार्वजनिक गर्न थालेपछि अहिले उनीहरु त्रसित बनेका छन् ।

धनुषा जिल्ला अदालतले लिखित परीक्षा लिई लेखापढी व्यवसायीको लाईसेन्स वितरण गर्दै आएको छ । सो लाईसेन्स लिएर अधिकांश व्यक्तिहरु सेवाग्राहीको भिडभाड रहने सरकारी कार्यालयको प्रांगणमा बसेर सशुल्क सेवा दिदैँ आएका छन् ।

सेवाग्राहीसँग लिनुपर्ने शुल्क निर्धारण नगरिएको हुनाले मनोमानी शुल्क लिई सेवाग्राहीको कामलाई सहज बनाउँदै काम गराईदिने लेखापढी व्यवसायीहरुलाई विचौलिया भनेर पक्राउ गर्न थालेपछि उनीहरु प्रहरी प्रशासनको विरुद्धमा उत्रेका छन् ।

No description available.

बार एशोसिएसन र अदालतले उपलब्ध गराईदिएको लाईसेन्स लिएकै आधारमा सेवाग्राही बढी भिडभाड रहने भूमि सुधार तथा मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, जिल्ला अदालत, उच्च अदालत, यातायात व्यवस्था कार्यालयलगायतका कार्यालयहरुमा सेवाग्राही खोज्दै शुल्क लिएर काम गरिदिने गरेका छन् ।

तर विगत केही महिनादेखि जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयबाट विचौलियाको आरोपमा पक्राउ गर्दै सार्वजनिक गर्दै धनुषा प्रहरीले समात्ने र छाड्ने गरेपछि अहिले लेखापढी व्यवसायीहरु आन्दोलित हुनु परेको लेखापढी व्यवसायी प्रवीण झाले बताए । उनले सरकारले नै उपलब्ध गराउने लेखापढी लाईसेन्स लिई काम गर्दापनि प्रहरीले धम्क्याउने, कुटपीट गर्ने, डराउने, थुनिदिने, पक्राउ गर्नेलगायतका कार्यहरुले हामीलाई काम गर्ने वातावरण सृजना नहुदाँ सांकेतिकरुपमा आन्दोलनमा उत्रिएको बताए ।

No description available.

उनीहरु आन्दोलित हुदाँ सेवाग्राहीहरुलाई झनै मर्का छ । यातायात व्यवस्था कार्यालयमा मोटरसाईकलको ब्लुबुक नविकरणका लागि आएका सेवाग्राही संजयकुमार यादवलाई कर्मचारीले अनलाईन फारम बाहिरबाट भरेर आउन भनेपछि उनी अन्योलमा परेका थिए । लेखापढी व्यवसायीहरु आ–आफ्नो व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रेपछि कहाँ गएर काम गराउने भन्दै चिन्तित थिए । उनले भने, ‘टाढाबाट काम छाडेर यातायात व्यवस्था कार्यालयमा काम गराउन आउदाँ पनि कर्मचारीले काम नगरिदिने, अनि कार्यालय बाहिर आउँदा लेखापढी व्यवसायीले पनि काम नगरिदिएपछि कहाँ र कसरी काम गराउने, कार्यालयले विच्चली बनायो ।’

No description available.

प्रहरीले काम गरिरहदाँ नै पक्राउ गरेर लग्ने र छाड्ने गरेपछि काम गर्ने वातावरण नभएको भन्दै लेखापढी व्यवसायीहरुले बुधबार यातायात व्यवस्था कार्यालय अगाडी प्रहरी प्रशासन विरुद्ध नारावाजी गर्दै काम गर्ने वातावरण सृजना गर्न माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले आज दिनभर व्यवसाय बन्द गरेका छन् ।

करिब दुई महिनाको अन्तरालमा धनुषा प्रहरीले विभिन्न कार्यालयबाट गरि ६ जनालाई विचौलियाको आरोपमा सार्वजनिक गरेका छन् । तरपनि सेवाग्राहीलाई सहज ढंगले काम भने भई नरहेको सेवाग्राहीको आरोप छ ।