जनकपुर, चैत ४

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नयाँ बन्ने ऐनमा तहगत प्रणाली र कर्मचारीको उमेर हद ६० वर्ष कायम गरिने बताएका छन् ।

शनिबार जनकपुरधाममा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती मधेस प्रदेश समितिको दोस्रो अधिवेशनमा बोल्दै मन्त्री मोदीले कर्मचारीको उमेर हद ६० वर्ष कायम गरिने बताए ।

उनले कर्मचारी प्रशासनमा देखिएका समस्या समाधान हुने गरी संसद्को चालु अधिवेशनमा संघीय निजामती कर्मचारी ऐन पेस गर्ने तयारी भएको बताए ।

उनले आफू जिम्मेवारीमा आएपछि ऐनका विषयमा पूर्वप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, स्थानीय तहका प्रमुखहरूसँग छलफल गरी अन्तिम चरणमा पुगेकोसमेत बताए ।

सो ऐनमा तहगत प्रणाली र उमेर हदका विषयमा सहमति भएको बताउँदै मन्त्री मोदीले कर्मचारी सरोकारका विषयमा पनि सम्बोधन भएकाले तत्काल नै समस्या समाधान हुने सरकारको अपेक्षा रहेको उनको भनाई थियो ।