काठमाण्डौ, चैत ४
विभिन्न राजनीतिक दलका नेताहरूले शान्ति प्रक्रियाका बाँकी काम तत्काल टुंगो लगाउन आग्रह गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय व्यवस्थापन’ विषयक अन्तक्रियामा नेताहरूले शान्ति प्रक्रियामा उल्लेख भएअनुसार न्याय सम्पादन गरिनुपर्नेमा जोड दिएका हुन् ।
नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सीपी गजुरेलले जनयुद्धकालीन घटनालाई नियमित अदालतको प्रक्रियामा लिए नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्र्रचण्डमात्र नभएई तत्कालीन सात राजनीतिक दलका नेताहरू पनि उत्तिकै जिम्मेवार रहेको बताए । सशस्त्र द्वन्द्वका पीडितले न्याय चाँडो पाउनुपर्ने बताउँदै वरिष्ठ नेता गजुरेलले न्यायका लागि शान्ति प्रक्रियाअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगबाट टुंगो लगाउनुपर्नेमा जोड दिए ।
नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोलाले गणतन्त्र ल्याउन बलिदान गर्नेहरूमाथि नै मुद्दा लगाएएकोमा आपत्ति जनाए ।
नेकपा बहुमतका प्रवक्ता हेमन्तप्रकाश ओलीले राजनीतिक विषयलाई राजनीतिक विषयभन्दा कानुनी विषयमा हल गर्न खोजिएमा समस्या बल्झिदैँ जाने बताए ।
माओवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव रामनारायण पालले सशस्त्र द्वन्द्वको इतिहासलाई संविधानले स्वीकार गरिसकेकाले द्वन्द्वका पीडितहरूलाई न्याय नियमित अदालतबाट दिन नमिल्ने बताए ।



