विराटनगर, चैत ५
प्रदेशको नामकरण कोशी गरिएको भन्दै आन्दोलनकारीहरुले आक्रोशित हुँदै प्रर्दशन गरेका छन् । सो प्रदर्शनको क्रममा प्रहरीले हवाई फायर गरेको छ भने चार जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै निषेधित क्षेत्र तोड्दै मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गर्ने चार जना प्रदर्शनकारीलाई मोरंग प्रहरीले पक्राउ गरेको हो ।
कोशी प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने माग राख्दै संयुक्त संघर्ष समितिले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरेको मोरंग प्रहरीले जनाएको छ ।
प्रहरीले भिड नियन्त्रण गर्न एक दर्जन अश्रुग्यास र तीन राउन्ड हवाई फायरसमेत गरेको छ । भने यता प्रदर्शनकारीको अर्को टोलीले प्रदेशसभा अगाडि प्रदर्शन गरिरहेका छन् ।
प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामकरण गर्दै कोशी राखेको छ । त्यसपछि पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् ।
आज प्रदर्शनपछि आयोजित सभालाई नेताहरु गोपाल किराती, कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेनलगायतकाले सम्बोधन गर्ने भएको छ ।
प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय मोरंगले विराटनगरको पाँच स्थानमा निषेधाज्ञासमेत जारी गरेको थियो ।