जनकपुर, चैत ५
सात दलीय गठबन्धनबाट नेकपा एमालेलाई अलग गरेपछि सरकारमा अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिदैँ छन् ।
नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई चैत ६ गते अर्थात भोली सोमबार नै विश्वासको मत लिनुपर्ने हुन्छ ।
उनलाई विश्वासको मत दिनका लागि सरकारबाट अलग भएरपनि समर्थन दिएका राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टीलगायतकाले समर्थन गर्ने भएका छन् ।
त्यस्तै यता नेपाली कांग्रेसले पनि विश्वासको मत दिदैँ सरकारमा सहभागी हुने भएको छ ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादीलगायतका दलले पनि समर्थन गर्ने निर्णय गरेको छ ।
काँग्रेसको आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सबै प्रदेश तथा समावेशी सिद्धान्तअनुसार मन्त्री छानेर सरकारमा पठाउने निर्णयसमेत भएको बताए ।
नेकपा एमाले, राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट पनि बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
