काठमाण्डौ, चैत ५

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग ठुला जलविद्युत् आयोजनाको सम्झौता गर्ने भएका छन् । यसका लागि उनी विदेश भ्रमण जाने तयारीमा छन् ।

संसदबाट विश्वासको मत लिएर मन्त्रीमण्डल विस्तारसँगै प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणको तयारी भइरहेको हो ।

सो क्रममा उनले जलविद्युत् क्षेत्रमा ठूलो सम्झौता गर्ने तयारी गर्न ऊर्जासम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् ।

बोर्डमै पुगेका प्रधानमन्त्री प्रचण्डले परियोजना विकासकर्ताहरूसँग समेत भेटघाट र अन्तरक्रियासमेत गरेका थिए ।

तत्काल सम्झौता अघि बढाउन सकिने आयोजनाबारे बुझेपछि प्रधानमन्त्री प्रचण्डले बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई आवश्यक निर्देशन समेत दिएका थिए ।

सो क्रममा अरुण तेस्रो तथा तल्लो अरुण जलविद्युत् परियोजना, होङ्सी सिमेन्ट, हुवासिन सिमेन्ट नारायणी परियोजना, माथिल्लो कर्णाली जलविद्युत् परियोजना, माथिल्लो मर्स्याङ्दी २ अर्धजलाशययुक्त जलविद्युत् परियोजना, पश्चिम सेती जलाशययुक्त र सेती नदी ६ अर्धजलाशययुक्त जलविद्युत् परियोजना र माथिल्लो त्रिशूली– १ जलविद्युत् परियोजनाबारे छलफल भएको जनाइएको छ ।

त्यस्तै डाबर नेपाल, चीन–नेपाल मैत्री औद्योगिक पार्क परियोजना, मुक्तिनाथ केवलकार परियोजनाका विकासकर्ताले परियोजनाका प्रगति, कार्यान्वयन तथा प्रमुख चुनौतीबारे पनि जानकारी गराएको सीईओ भट्ट बताए ।

उनले समग्रमा लगानीबोर्डमा विभिन्न चरणमा काम भइरहेका आयोजनाको प्रगतिबारे समेत छलफल भएको थियो ।

यसका साथै ७५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् आयोजना र ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजनाबारे प्रधानमन्त्री प्रचण्डले चासो दिएका थिए ।

यस क्रममा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा ३ सम्झौता गर्ने तयारीमा छन् ।

तिन मध्ये ७५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् आयोजना, ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजना र नेपाल–भारत हुँदै बंगलादेशसम्मको प्रसारणलाइन छन् ।

यससँगै नेपालले बंगलादेशसम्मको डेडिकेटेड प्रसारणलाइनको प्रस्ताव समेत गर्ने भएको छ ।

सो क्रममा ७५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् आयोजना भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेभीएन लिमिटेड)लाई दिने तयारी रहेको जनाइएको छ ।