कलैया, चैत ६
सत्तारुढ जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता रामसहायप्रासद यादव उपराष्ट्रपति निर्वाचनमा निर्वाचित भएसँगै सांसद पदबाट राजिनामा दिएपछि बाराको सो क्षेत्रमा पुनः निर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगले बाराको निर्वाचन क्षेत्र नम्बर २ सहित विभिन्न तीन वटा क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन गराउने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
यादव हालै उपराष्ट्रपति पदमा निर्वाचित भएपछि उक्त सिटमा उपनिर्वाचन गराउनु परेको हो ।
बारा–२ मा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्नकै लागि रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाएको चर्चा पुष्टि भएको छ । जसपा नेपालका मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले बारा–२ मा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव नै उम्मेदवार बन्ने पक्कापक्की गरेका छन् ।
तर, उपेन्द्र यादवलाई प्रतिनिधिसभामा प्रवेशका लागि सत्तारुढ गठबन्धनबाटै डर हुने देखिएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवचन्द्र कुशवाहा मंसिर ४ को निर्वाचनमा रामसहायप्रसाद यादवसँग झिनो मतले पराजित भएका थिए ।
रामसहायप्रसाद यादव उपराष्ट्रपति भएसँगै उनले प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी थालिसकेका छन् ।
उनले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि मात्रै दलहरुबिच गठबन्धन भएको दाबी गर्दै आसन्न उपनिर्वाचनमा अहिलेको गठबन्धनले कुनै असर नगर्ने ठोकुवा नै गरे ।
उनी करिब दुई सातादेखि नै आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग मत माग्न थालिसकेका छन् ।
बारा–२ मा यसअघि भएको निर्वाचनमा माओवादीका उम्मेदवार कुशवाहा ३५४ मतान्तरले रामसहाय यादवसँग पराजित भएका थिए । रामसहाय यादवले १३ हजार ८२२ मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका उम्मेदवार कुशवाहाले १३ हजार ४६८ मत प्राप्त गरेका थिए ।
यता नेकपा एमालेले पनि उम्मेदवारीको तयारी थालिसकेका छन् ।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा बारा–२ मा प्रदेशसभा सदस्य तर्फ (क) र (ख) दुवैमा जसपा उम्मेदवारहरु शारदा शंकरप्रसाद कलवार र बच्चा राउत अहिर निर्वाचित छन् ।
बारा–२ अन्तर्गत प्रदेशसभाका दुवै सिटमा जसपाले जितेका कारण पनि उपनिर्वाचनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहजैरुपमा निर्वाचित हुने दावी जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले दावी गरे ।