जनकपुर, चैत १४

जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको समानुपातिक तर्फको निर्वाचन परिणामलाई लिएर नेविसंघले मनोमानी गरेको भन्दै अन्य विद्यार्थी संगठनले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको छ ।

गत चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा समानुपातिक सूचिमा रहेको नाम छनोट प्रक्रिया विधान सम्मत ढंगले नगरेको भन्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको हो ।

स्ववियु सभापति मनिषकुमार यादवले समानुपातिक सूचिमा रहेकाहरुको नाममा मनोमानी गर्दै सिफारिस गरेको भन्दै नेपाल विद्यार्थी संघका सदस्य पदका समानुपातिक उम्मेदवारहरुले तालाबन्दी गरेका छन् ।

सदस्यतर्फ नेविसंघले चारवटा समानुपातिक सिट पाएका छन् । स्ववियू सभापति यादव र नेविसंघका अन्य कार्यकर्ताहरुले १ नम्बरमा रहेको राजेशकुमार कर्ण, ४ नम्बरमा नाम रहेको उमेशकुमार मण्डल, ८ नम्बरमा नाम रहेको मनिषाकुमारी यादव र ९ नम्बरमा नाम रहेको दिपेन्द्र राउतको नाम सिफारिस गरेको सदस्य पदका उम्मेदवार सुशील अधिकारीले बताए ।

उनले आफ्नो नाम दुई नम्बरमा रहेपनि आफूलाई हटाएर त्यस ठाउँमा आफूलाई नेविसंघको नेता भन्ने पुष्पेन्द्र गोइतले आफ्नो साली मनिषाकुमारी यादवको नाम राख्न लगाएको आरोपसमेत लगाए ।

उनले ३ नम्बरमा नाम रहेको रञ्जना यादव, ५ नम्बरमा नाम रहेको युगान्धार बाबु साह, ६ नम्बरमा नाम रहेको दीपेन्द्र साह, ७ नम्बरमा नाम रहेको वाल्मिकी कुमार साह र १० नम्बरमा नाम रहेको राम नविन राय अमात्यको नाम हटाइएकोप्रति आफूहरुले विरोध गरेको बताए ।

No description available.

सभापति यादवलगायतकाले विधान नै नमानी, नियम उल्लंघन गरेर आफ्नो आसेपासेका चारजनाको नाम सिफारिस गरेको उनको आरोप छ । यसैबिच, उनीहरुले निर्वाचन समिति प्रमुख रेमन्त मोरबैतालाई समानुपातिक नामावलीको नाम प्रकाशन नगर्न आग्रह गर्दै निवेदनसमेत बुझाए ।

निवेदनमा नेपाल बिद्यार्थी संघको समानुपातिक सूचिमा इकाई कमिटीमा विवाद देखिएकोले नेविसंघको केन्द्रीय कार्यसमितिको निर्णय नआउन्जेलसम्म नाम प्रकाशन नगर्न आग्रह गरेको छ ।