सिरहा, चैत १४
सिरहाको गोलबजार नगरपालिकाका नगरप्रमुख श्याम कुमार श्रेष्ठलाई कालोमोसो दलेका छन् । कालोमोसो दलेको आरोपमा एक जना पक्राउ समेत परेका छन् ।
मंगलबार गोलबजार नगरपालिकाको परिसरमा प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला एकजना अपरिचित व्यक्तिले केही कागजातहरु दिएजस्तो गर्दैगर्दा अर्का व्यक्ति तत्कालै आएर नगरप्रमुख श्रेष्ठमाथि मोबिल छ्यापेका हुन् ।
नगरप्रमुख श्रेष्ठ काम विशेषले सिरहा सदरमुकाम जान गाडी चढ्ने बेलामा एउटाले कागजात देखाएको र अर्का व्यक्तिले मोबिल छर्केको नगरप्रमुखका सवारी चालक रामकेवल मण्डलले जानकारी दिए ।
मोबिल छ्याप्नेहरुले नेपाल कम्यूनिष्ट पार्टी (बहुमत) को जनसंघर्ष परिचालन समितिको पर्चासमेत छरेका छन् । मोबिल छर्किने मध्ये सिरहको नरहा गाउँपालिका वडा नम्बर १ का साविसरण महरालाई प्रहरील पक्राउ गरेको छ । सिरहा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका महरालाई गोलबजार नगरपालिकाको प्रशाकिय अधिकृतको कार्यकक्षमा प्रहरी नियन्त्रमा लिएका छन् ।
उनीहरुले छरेको पर्चामा गोलबजार नगरपालिकाका नगरप्रमुख श्याम कुमार श्रेष्ठलाई लगुवित्त मार्फत गरिव जनतालाई उठिवास लगाएको, मिटरव्याजीहरुलाई संरक्षण गरेको, हटियाको करमा एक करोट ५२ लाख ब्रम्हलुट गरेको कारण जनकारवाही गरेको जनाइएको छ ।
पर्चामा फर्जी कागजात बनाई गोलबजार– १ मुक्सार बाटोको ६२ लाख रुपैयाँ हिनामिना गरेको, अवैधानीक तरिकाले नदिको दोहन गरेको, अन्याय पूर्ण तरिकाले नगरपालिकामा कार्यरत कर्मचारी हटाईएको र हाम्रा नेता तथा कार्यकता विरुद्ध सुराकी गरेकोले जनकारवाही गरिएको उल्लेख छ ।