कलैया, चैत १५

नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहले पार्टी परित्याग गर्दै जनमत पार्टीमा प्रवेश गरेका छन् ।

बुधबार काठमाण्डौ स्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै नेता कुशवाह जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रले उपनिर्वाचनमा बारा– २ बाट उम्मेदवारका लागि टिकट नदिइने भएपछि उनले जनमत पार्टीमा प्रवेश गरेको बताए ।

गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी बारा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार थिए । उनी तत्कालीन जसपा नेपालका नेता रामसहाय प्रसाद यादवसँग ३५४ मतान्तरले पराजित भएका थिए । यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

नेता कुशवाहले माओवादी केन्द्रबाट टिकट नपाउने भएपछि उनी बारा क्षेत्र नम्बर २ बाट उपनिर्वाचन लड्नका लागि जनमत पार्टीमा प्रवेश गरेका हुन् । आफू स्वतन्त्र भएर चुनाव लड्न खोजेतापनि जनताले पार्टीबाट चुनाव लड्न आग्रह गरेकाले जनमत पार्टी प्रवेश गरेर चुनाव लड्ने तयारी गरेको बताए ।

सो क्षेत्रमा सत्ता गठबन्धनबाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचन लड्ने तयारीमा छन् । पत्रकार सम्मेलनमा कुसवाहले उपेन्द्र यादव चुनाव लडे उनलाई हराउने दावी गरे ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले नेता कुशवाहालाई पार्टी प्रवेश गराएका थिए ।