लहान, चैत १५
सिरहाको गोलबजार नगरपालिकाले नगरप्रमुख श्याम कुमार श्रेष्ठमाथि मोबिल छयाप्ने कार्यमा संलग्न रहेकाहरुलाई कडा कारवाही गर्न माग गरेका छन् ।
मंगलवार दिउँसो नगरप्रमुख श्रेष्ठमाथि विभिन्न आरोप लगाउँदै मोबिल छ्याप्ने समूहलाई तत्काल पक्राउ गरी कडा कारवाहीको लागि बुधबार नगरपालिकाले पत्रकार सम्मेलन मार्फत यस्तो माग अघि सारेको हो ।
उनले तत्काल घटनाका दोषीहरुलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै प्रहरीलाई चेतावनी समेत दिएका छन् ।
पत्रकार सम्मेलनमा नगरप्रमुख श्रेष्ठले भने, ‘प्रहरीले घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारवाही गरोस् भन्ने पक्षमा छौं, हामी आजै नै पक्राउ परेका विरुद्ध उजुरी दर्ता गराउँदै छौँ, प्रहरीले कारवाही नगरेमा आन्दोलन गर्नेछौँ ।’
नगरप्रमुख श्रेष्ठमाथि नेपाल कम्यूनिष्ट पार्टी बहुमतले लगाएको लगुवित्त मार्फत गरिब जनतालाई उठिवास लगाएको, मिटरव्याजीहरुलाई संरक्षण गरेको, हटियाको करमा एक करोट ५२ लाख ब्रम्हलुट गरेको आरोप कपोकल्पित र झुठो रहेको दावी गरेका छन् ।
उनले जारी गरेको विज्ञप्तीमा गोलबजार नगरपालिका वडा नम्बर १ स्थित मुक्सार बाटोको ६२ लाख रुपैयाँ हिनामिना गरेको, अवैधानीक तरिकाले नदिको दोहन गरेको, अन्याय पूर्ण तरिकाले नगरपालिकामा कार्यरत कर्मचारी हटाइएको र हाम्रा नेता कार्यकता विरुद्ध सुराकी गरेको आरोप मिथ्या रहेको उल्लेख गरिएको छ ।
उनले अघि थप्दैँ भने, ‘बजार ठेक्काको रकम, नदिबाट उठेको रकम नगरपालिकामा जम्मा नभएको र त्यसबारे आफूले पटक पटक ताकेता र आवाज उठाउँदै आएको छु ।’
आफू मिटरव्याज पीडितको पक्षमा रहेको समेत उनले बताए ।
उनले नेपाल कम्यूनिष्ट पार्टी बहुमतले लगाएको आरोप पार्टीका उच्च पदस्थ नेताहरुलाई प्रमाणित गरेर देखाउन चुनौतीसमेत दिएका छन् ।
नगरप्रमुख श्रेष्ठमाथि प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला एकजना अपरिचित व्यक्तिले केही कागजहरु दिएजस्तो गरिरहेकै वेला सँगै आएका अर्को व्यक्तिले मेयर कालो मोबिल छर्केका थिए ।
घटनापछि आज विहान नेकपा एमालेका नेता तथा कार्यकर्ताले प्रदर्शन गर्दै एक घण्टासम्म पुर्व–पश्चिम राजमार्ग अन्तर्गतको गोलबजार स्थित सडकखण्ड अवरुद्ध गरेका थिए ।
यता नगरप्रमुख श्रेष्ठलाई मोबिल छर्केर दल्ने प्रयासको घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहका प्रहरी निरिक्षक शंकर चौधरीले जनाएको छ ।




