जनकपुर, चैत १५

मधेस प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश प्रसाद यादवले यसवर्षको एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले एसईई परीक्षा अनुशासित, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारबाला सम्पूर्ण निकायलाई निर्देशन दिइसकिएको बताएका हुन् ।

समुदायमा शिक्षाको समग्र विकास र सुधारको लागि परीक्षा प्रणालीले पनि महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले यसपालिको एसईई परीक्षा विगतको भन्दा अनुशासित, मर्यादित र भयरहित वातावरणमा हुने बताए ।

यसपटकको एसईई परीक्षामा प्रदेशका २७९ परीक्षा केन्द्रमार्फत ७९ हजार ९४ जना परीक्षार्थी सहभागी हुने उनले जानकारी दिए ।

परीक्षाका लागि २७९ केन्द्राध्यक्ष, ५२८ सहायक केन्द्राध्यक्ष, ७९६ परीक्षा सहायक, ४ हजार ६९ जना निरीक्षक, १ हजार ६२८ कार्यालय सहायक गरी ७ हजार ५७९ कर्मचारी र तिनवटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिने मन्त्री यादवले बताए ।

यसपालिको एसईईमा सप्तरीमा ३६ परीक्षा केन्द्रमार्फत ९ हजार ५२७, सिरहामा ४० परीक्षा केन्द्रमार्फत १० हजार १५०, धनुषामा ४३ परीक्षा केन्द्रमार्फत १२ हजार १४६, महोत्तरीमा ३१ परीक्षा केन्द्रमार्फत ९ हजार ५४, सर्लाहीमा ३७ परीक्षा केन्द्रमार्फत १० हजार ९१६, रौतहटमा ३५ परीक्षा केन्द्रमार्फत ८ हजार ९५७, बारामा ३२ परीक्षा केन्द्रमार्फत ९ हजार १७९ र पर्सामा २५ परीक्षा केन्द्रमार्फत ९ हजार १६५ जना परीक्षार्थी सहभागी हुनेछ ।

मधेस प्रदेशमा विगतदेखि एसईई परीक्षाप्रति अनेकौं गुनासोहरु उठ्दै आएको, परीक्षा केन्द्र वरिपरि अभिभावकहरुको अनियन्त्रित भिडभाड देखिँदै आएको लगायतका गुनासाहरुलाई व्यवस्थापन तथा नियन्त्रण गर्न मन्त्री यादवले स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुलाई आग्रहसमेत गरे ।