जनकपुर, चैत २१

मधेश प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरु आज नै मुख्यमन्त्री समक्ष राजिनामा–पत्र बुझाउँदै बाहिरिने भएको छ ।

नेकपा एमालेबाट मधेस प्रदेश सरकारमा सहभागी भएका चारजना मन्त्री र एकजना राज्यमन्त्रीले आज मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएर मधेश सरकारबाट बाहिरिने लागेको हो ।

गत फागुन १५ गते नेकपा एमाले सचिवालय बैठकले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेका ८ जना मन्त्रीहरु संघीय सरकारबाट बाहिरिए पनि मधेस प्रदेशमा भने एमाले सरकारमै सहभागी थियो ।

नेकपा एमाले मधेस प्रदेशका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीले आजै राजीनामा दिन लागेको जनाएका छन् ।

उनले सोमबार राति मुख्यमन्त्री यादवले फोन गरेर आफूहरुलाई राजीनामा दिन भनेपछि सरकारबाट बाहिरिन लागेको बताए ।

केन्द्रमा एमालेसँग गठबन्धन भत्किएलगत्तै मुख्यमन्त्री यादवले एमालेका मन्त्रीहरुलाई सरकारबाट हटाउन चाहेपनि बारा–२ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने आशमा उनी मौन बसेका थिए । तर, त्यहाँ सोमबार उम्मेदवारी दर्ताको क्रममा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले समेत उम्मेदवारी दर्ता गराएपछि मुख्यमन्त्री यादवले सरकार छोड्न निर्देशन दिएका थिए ।

मधेस सरकारमा नेकपा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुधन प्रसाद सिंह, कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रीमा राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री पदमा केशव राय सहभागी छन् ।

भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले मुख्यमन्त्री यादवसँगै गत पुस २९ गते शपथ लिएका थिए भने अन्य मन्त्रीहरु माघ २० गते सरकारमा सहभागी भएका थिए ।

पुस २९ गते सरकारमा सहभागी भएको एमालेले साढे २ महिना पछि सरकार छाड्न लागेको हो ।

केन्द्र सरकारमा पनि गएको पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेसहित ७ दलका सांसदले हस्ताक्षर गरेर बहुमत पुर्याएका थिए ।

त्यति बेला राष्ट्रपति पद एमालेले पाउने मौखिक सहमति भएपनि सहमतिविपरीत प्रधानमन्त्रीले नेपाली काँग्रेससहितको ८ दलीय मोर्चा बनाएर राष्ट्रपतिमा काँग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई प्रस्ताव र समर्थन गरेसँगै एमाले सरकारबाट बाहिरिएको थियो ।