
जनकपुर, असार ११
धनुषामा केही स्थानीय तहले असार १० गतेसम्ममा पनि नीति, कार्यक्रम तथा बजेट ल्याउन सकेका छैनन् । स्थानीय तहका प्रमुख र उपप्रमुख बीचको आन्तरिक विवादका कारण पाँच वटाले बजेट पेससमेत गर्न सकेका छैनन् ।
धनुषामा १८ वटा स्थानीय तह मध्ये जनकपुरधाम उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०८०\०८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६८ हजार २९० रुपैयाँको अनुमानित बजेट ल्याएको सार्वजनिक गरेको छ ।
त्यस्तै सबैला नगरपालिकाले शनिबार नीति कार्यक्रम तथा बजेट नगरसभामा अगामी आर्थिक वर्षका लागि अनुमानित ५९ करोड रुपैयाँको बजेट ल्याएको छ । शनिबार भएको नवौँ नगरसभामा नगरप्रमुख कारीराम यादवले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित अनुमानित ५८ करोड ८८ लाख ९५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
त्यस्तै विदेह नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०\०८१ का लागि ७० करोड ५ लाख ३ हजार ५ सय १ रुपैयाँको अनुमानित बजेट ल्याएको छ । भने क्षीरेश्वरनाथ नगरपालिकाले आव २०८०\०८१ को लागि ल्यायो ६८ करोड ९२ लाख ९९ हजारको बजेट सार्वजनिक गरेको छ ।
त्यस्तै हँसपुर नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०\०८१ को लागि ४८ करोड ८२ लाख ४० हजार रुपैयाँको बजेट ल्याएको छ ।
जिल्लाको कमला नगरपालिकाले नगरसभामा नीति तथा कार्यक्रम मात्र प्रस्तुत गरेका छन् । पालिकामा केही आन्तरिक विवाद रहेको कारण आइतबार नीति तथा कार्यक्रम मात्रै प्रस्तुत गरिएपनि बजेट असार २७ गते प्रस्तुत गर्ने तयारी थालेको छ ।
त्यस्तै गणेशमान चारनाथ नगरपालिकाले आ.व.२०८०\०८१ को लागि ५२ करोड ७३ लाख ५ हजारको बजेट ल्याएको छ । भने धनुषाधाम नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०\०८१ को लागि ५४ करोड ४४ लाख ८३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।
त्यस्तै नगराईन नगरपालिकाले अगामी आर्थिक वर्षका लागि ५४ करोड ६८ लाख ७५ हजार ७ सय रुपैयाँको बजेट नगरसभामा प्रस्तुत गरिएको छ । भने मिथिला बिहारी नगरपालिकाले ४४ करोड ८४ लाख ९८ हजार ४ सय रुपैयाँको बजेट ल्याएको छ ।
त्यस्तै धनुषाको जनकनन्दिनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०\०८१ को लागि १० औँ गाउँसभाबाट कुल ४७ करोड ३३ लाख ९२ हजार १०० रुपैयाँको नीति कार्यक्रम तथा बजेट गाउँसभाबाट ल्याएको छ ।
त्यस्तै लक्ष्मीनिया गाउँपालिकालले एघारौँ गाउँसभाबाट सुन्दर, समुन्नत र समृद्ध लक्ष्मीनियाँ गाउँपालिकाको नारासहित लागि ४५ करोड २७ लाख २८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको हो । गाउँपालिकाले पुँजीगत खर्चतर्फ ५९ प्रतिशत र चालु खर्च तर्फ ४१ प्रतिशत बजेट विनियोजन गरेको छ ।
त्यस्तै बटेश्वर गाउँपालिकाले आइतबार नगरसभा समक्ष आर्थिक वर्ष २०८०\०८१ को लागि ३७ करोड २ लाख ८ हजार ४ सयको बजेट विनियोजन गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शर्माले जनाएका छन् ।
मुखियापट्टी मुसहरनिया गाउँपालिकाले अगामी आर्थिक वर्षको लागि ४२ करोड ५३ लाख ७८ हजार बराबरको बजेट गाउँसभामा प्रस्तुत गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवले जनाएको छ ।
यस्तै, जिल्लाका पाँच वटा स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेका छैनन् । आन्तरिक जनप्रतिनिधिहरुबीच आपसमा विवाद भएपछि पाँच पालिकाले बजेट ल्याउन नसकेको देखिएको छ ।
सरकारले निर्धारण गरेको समय सिमामा मथिला नगरपालिका, कमला नगरपालिका, शहीदनगर नगरपालिका, धनौजी गाउँपालिका र औरही गाउँपालिकाले बजेट ल्याउन सकेको छैन ।