जनकपुर, असार १७

मारुती सिमेन्ट उद्योगका व्यापार प्रबन्धक ज्योति जोशीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

आपराधिक विश्वासघात मुद्दामा मारुती सिमेन्ट उद्योगका व्यापार प्रबन्धक जोशीलाई प्रहरीले पक्राउ गरिएको हो ।

यसै मुद्दामा पक्राउ पुर्जी जारी भएका मारुती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठी र उनका छोरा उद्योगका प्रबन्ध निर्देशक अनुज राठीसहित ७ जना भने फरार भएका छन् ।

राजविराज नगरपालिका ४ का स्थानीय दिवाकर साहले दिएको जाहेरीका आधारमा सप्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई मारुती सिमेन्टका व्यापार प्रबन्धक ज्योति जोशीलाई तीन दिनअघि नै पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जनाएका छन् ।

सप्तरी प्रहरीले बुधबार नै पाँच दिनको म्याद थप गराई उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

स्थानीय दिवाकर साहले आफ्नो घर निर्माणका लागि मारुती सिमेन्टको प्रयोग गरेका थिए भने यस सिमेन्टमा प्रयोग गरी घर बनाउँदा भ¥याङ लडेपछि सिमेन्ट गुणस्तरहीन भएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय सप्तरीमा ठगी (आपराधिक विश्वासघात ) मुद्दामा जाहेरी दिएका थिए ।

सोही जाहेरीका आधारमा पक्राउ पुर्जी जारी भई आरोपित जोशीलाई विराटनगरबाट पक्राउ गरी सप्तरी ल्याइएको छ । यस मुद्दामा मारुती सिमेन्टका प्रमुख सञ्चालक नन्दकिशोर राठी, प्रबन्ध निर्देशक अनुज राठी, मारुती सिमेन्टका प्रतिनिधि लक्ष्मीप्रसाद सिवाकोटी, डिलर सञ्जय साह, सिमेन्ट बिक्री वितरण गर्ने राजविराज नगरपालिका वडा नम्बर २ का नरेश साहसहित अजयकुमार साह फरार रहेको सप्तरी प्रहरीले जनाएको छ ।

जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका उनीहरूको खोजी कार्य भने जारी रहेको सप्तरी प्रहरीले जनाएका छन् ।

गुणस्तरहीन सिमेन्टका कारण आफ्नो भ¥याङ ढलेको तथा घर नै क्षतिग्रस्त भएको भन्दै दिवाकर साहले दावीसहितको उजुरी जिल्ला प्रहरी कार्यालयमा दिएका थिए ।