जनकपुर, असार १७
धनुषाको धनुषाधाम वडा नम्बर ६ स्थित गोविन्दपुर बस्ने उत्तम प्रसाद साह अहिले निकै खुसी छन् । खुसी हुनुको कारण नागरिकता हो । लामो समयदेखि नागरिकता नहुदाँ समाजदेखि अध्ययन र रोजगारीसम्मबाट वञ्चित भएरपनि जिवन जिउन बाध्य रहेका थिए ।
समाजमा साथी भाइका कुराहरुले कहिले काही होच्याएर भएपनि अनागरिक हुनुको पिडा असह्य थियो । तर जिवन संघर्ष हो भनेर बुझेका उत्तमले निरस भन्दा पनि संघर्ष रोजे र अन्ततः नागरिकता पाउन सफल भए । उनीसहित हजारौँ अनागरिकहरुले नागरिकता पाउँदा उनी निकै हर्षविभोर छन् । उनले आफुले आफ्नो देश र देशबाट सरकारले उपलब्ध गराएको नागरिकता प्राप्त गरेको भन्ने कुराले उनी गर्व गरिरहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐन कार्यान्वयनमा सर्वोच्च अदालतमा रिट परेपछि नागरिकता वितरण रोकिएको थियो । नागरिकता वितरण रोकिदाँ नागरिकताविहीन युवाहरुले काठमाडौँको माइतीघर मण्डलमा दिनहुँजसो धर्ना र विरोधका गरेका थिए ।
सर्वोच्च अदालतले गत बिहीबार ऐन कार्यान्वयनका लागि बाटो खोलेपछि उत्तमप्रसाद साहलगायतकाले लामो संघर्षपछिको परिणामको मीठो फल प्राप्त गरेको रुपमा उनीहरुले लिएका छन् ।
त्यस्तै कथा उत्तम प्रसाद साहको पनि छ । नागरिकताको नहुदाँ र साथी भाइले समेत अनागरिक भन्दै भारतीय भनेर हेप्दाको अनुभुती बडो कष्टप्रदायक हुदाँ नरमाइलो लाग्ने गरेको बताउँछन् ।
नागरिकता नहुदाँ अध्ययनबाटसमेत वञ्चित भएका उत्तमलाई डिप्रेसनको औषधीसमेत खानु परेको थियो ।
नागरिकता पाएपछि उनी प्रहरी निरीक्षक पदका लागि तयारी गर्ने र देशको लागि काम गर्ने बताउँछन् ।
आफ्नै देशको नागरिक नहुदाँ उनी ८ वर्षदेखि अनागरिक भएर नागरिक बन्नका लागि भौतारिए । सयौँ हण्डर खाए, ठोक्कर खाए, राज्यले उपलब्ध गराउने हरेक मौलिक अधिकारबाट उनी वञ्चित भए । तर हरेस भने उनले कहिले खाएनन् र रोजेनन् ।
उत्तम विगतका तिता अनुभव स्मरण गर्दै भन्छन्, ‘नागरिकता नहुदाँ मैले २०७६ मा काठमाडौँ स्थित पाटन मल्टिपल क्याम्पसमा बिबिएमा नाम निकाले । कोटामा नाम निकाल्न सफल भएपनि नागरिकता नहुदाँ मैले पढ्न पाइन ।
कोटामा नाम निकालेर पनि पढ्न नपाएपछि मैले बिबिएस निजी कलेजबाट अध्ययन गर्नुपर्ने बाध्यता भयो । मलाई नागरिकताकै हरेक ठाउँबाट वञ्चित भइरहेको देखेर आमाले पनि डिप्रेसनको औषधी खानु प¥यो, मैलेपनि यी ८ वर्षमा निकै दुःख, कष्ट र सास्ती भोगे । मेरो बुवाका साथीका छोराहरु मेरापनि साथी हुन्, मलाई साथीहरुले नागरिकता नभएर वञ्चित भएको भनेर निकै चिन्तित पनि हुन्थे भने कहिलेकाही ठट्यौली पारामा इन्डियन भनिदादाँ आफुलाई निकै नै घोच्ने गथ्र्यो । तैले कसरी नागरिकता पाइनस् भनेर निकै भन्थे, होच्याथेँ । त्यसपछि आफुलगायत नागरिकताकै कारण वञ्चित भएका साथीहरुसमेतले आफ्नो पहिचान, राज्यबाट लिनका संगठित भएर आन्दोलन गरे, प्रहरीको लाठी खाए, निकै दुव्र्यवहारसमेत सहेँ र अन्ततः आन्दोलन र संघर्षको बलमा अहिले नागरकिता पाए र यो मुलुकको नागरिक भएकोमा मलाई गर्व छ ।’
नागरिकता पाएपछि उत्तमले देश र समाजको लागि काम गर्ने भन्दै उनले प्रहरी निरीक्षक बनेर सेवा गर्ने र यसका लाग इन्स्पेकटरको लागि तयारी गर्ने बताएका छन् ।
त्यस्तै नागरिकता नहुदाँको पीडा जति थियो, त्यति नै खुसी नागरिकता पाएपछि भएको उत्तम जस्तै ललिताकुमार यादव पनि त्यतिकै खुसी छन् ।
ललितले चार वर्ष अघि नै पढाई पूरा गरेर कामका लागि भौतारिरहेका थिए । तर नागरिकता नहुदाँ न त काम पाए । न त कसैको साथ र सहयोग । नागरिकता सहजरुपमा सामान्य अध्ययन गर्न सकेपनि मोवाइल सिमदेखि अन्य मुलुकमा अध्ययनदेखि विभिन्न कामका लागि चाहिने नागरिकता नहुदाँ अनागरिक बनेर न्याय खोज्दै बाध्यतावश नेपालको नागरिक नै हुँ भनेर आफ्नै देशको सरकारसँग संघर्ष गर्नु परेको थियो । जसको फलस्वरुप नागरिकता पाएर अब काम गर्ने र सोका लागि वातावरण बनेकोमा उनी निकै खुसी छन् ।
धनुषामा जन्मसिद्ध नागरिकका सन्तानले अहिलेसम्म तीन हजार भन्दा बढी आवेदन नागरिकताका लागि दिएका छन् ।
प्रत्येक दिन सयौँको संख्यामा नागरिकता वितरण भइरहेको छ । अत्यधिक भिडभाडलाई व्यवस्थित गर्नका लागि जिल्ला प्रशासन कार्यालय धनुषामा टोकन प्रणालीको व्यवस्थासमेत गरिएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।
जन्मसिद्धका आधारमा नागरिकता वितरण सुरु भएपछि जिल्ला प्रशासन कार्यालयमा अहिलेसम्म करिब तीन सय भन्दा बढी नागरिकता वितरण भइसकेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
दिनहुँ जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता लिन आउनेको घुइँचो लाग्ने गरेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी दाहालले नागरिकताका लािग अहिलेसम्म तीन हजार भन्दा बढी आवेदन आएको र आउने क्रम अझैसम्म पनि जारी नै रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘धनुषामा करिब १५ हजार भन्दा बढी जन्मसिद्ध नागरिकता पाएकाहरुको संख्या रहेको छ, जस अनुसार प्रत्येक घरमा २ देखि ४ जनासम्म सन्तान भएमा करिब ८० हजारको हाराहारीमा धनुषामा वंशजको नागरिकता वितरण हुने अनुमान छ ।’