
वीरगंज, असार १७
‘एक त हामीलाई घरपरिवारले नै स्वीकार्दैन, समाजमा पनि अनेक नाममा हेला गर्छन्, बाँच्नका लागि काम गर्नुपर्ने नै हुन्छ तर जागिर माग्न जाँदा तेश्रोलिंगी भन्दै काम नदिएपछि बाँच्नकै लागि कतिपय साथीहरु गलत भए पनि बाध्य भएर यौन पेशा अंगालिरहेका छन्,’ तेस्रो लिंगी सञ्जुले भनिन्, ‘समाज र घरपरिवारले समेत पहिचान नस्वीकारेकाले जीवन गु्जारा गर्न बाध्य भएर यौनकर्मी बन्ने क्रम बढ्दो छ ।’
समाजले नस्वीकारकै कारण बाध्य भएर यौनपेशामा लाग्नु परेको वीरगंजका तेश्रोलिंगीको गुनासो छ । यौनपेशामा लाग्दा प्राणघातक विभिन्न रोगको सिकार पनि बन्ने गरेको उनीहरु स्वीकार्छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था सहयात्री समाज नेपालका अनुसार, पर्सामा समाजमा खुलेर आएका तेस्रोलिंगीको संख्या ५ सय भन्दा बढी छ । समाजमा खुलेर नआउनेको संख्या अझ त्यो भन्दा बढी नै रहेको कार्यक्रम संयोजक सुरज लिम्बु बताउँछन् । तीमध्ये व्यावसायिक रुपमै यौनपेशामा करिब २ सयको हाराहारीमा संलग्न छन् । तर यौनपेशामा रहेको खुलेरै बताउनेको संख्या १०\१२ मात्रै छ ।
तेस्रो लिंगी दीपिका भन्छिन्, ‘ठूला आलिशान होटलमा हुने गोष्ठी–सेमिनारमा जसले यौन पेशा गलत हो, यसले समाज बदनाम हुन्छ, यौन पेशा छोड्नुस्, अरु काम वा जागीर गर्नुस् भनेर भाषण गर्छन्, ती भाषण गर्ने व्यक्तिकै संस्था वा फार्ममा काम माग्न जाँदा तेस्रो लिंगी भनेर जागिर दिँदैनन् ।’
सहयात्री समाजमा कार्यरत दीपिका यौन पेशामा लागेका तेस्रो लिंगीलाई पेशा छाडेर अरु कुनै काम गर्न निरन्तर काउन्सिलिङ गर्दै आएको बताउँछिन् । ‘कि त हामीलाई अरु कुनै काम वा जागिर खोजी देऊ होइन भने बाँच्नका लागि कुनै आधार देऊ भन्छन्, रहरले होइन बाध्यताले यौनकर्मी बन्नु परेको पनि बताउँछन्,’ दीपिकाले भनिन्, ‘तेस्रो लिंगी महिला रहरले नभइ जीवन गुजारा गर्न अन्य विकल्प नपाएर नै यौनकर्मी बन्ने गरेका छन् ।’
देशमा काठमाडौँपछि पर्सामा सबै भन्दा बढी तेस्रोलिंगी रहेको पाइएको छ । ‘अधिकांश तेस्रो लिंगी विभिन्न विवाह, भोजभत्तेरजस्ता उत्सव र समारोेहमा हुने आर्केष्टा (नाचगान) समूहमा काम गरेर जीवन गुजारा गरिरहेका छन्,’ कार्यक्रम संयोजक सुरज लिम्बु भन्छन्, ‘पर्सामा समाजमा खुलेर आएका ५ सय भन्दा बढी तेस्रो लिंगी छन्, उनीहरुमध्ये ६ जनाले मात्रै सहयात्री समाजमा जागिर पाएका छन्, अरु सबै काम वा जागिर नपाएकाले कि त आर्केष्टामा नाचेर जीवन गुजारा चलाइरहेका छन्, कि त बाध्य भएर यौनकर्मी बनेका छन् ।’
तेस्रो लिंगी ममता भन्छिन्, ‘कहिलेकहिँ प्रहरीबाट पनि दुव्र्यवहारमा पर्ने गरेका छौँ ।’ उनी भन्छिन्, ‘म यौनकर्मी होइन तर विहे भोजभत्तेरमा हुने आर्केष्टा नाचेर अबेर राति घर वा डेरा फर्किँदा बाटोमा भेटिने प्रहरीले नै ‘यौनकर्मी होस्’ भनेर गाली गर्ने, नराम्रो वचन लगाउने गर्छन् । कहिलेकहिँ त पक्रेर रातभर थुनेर भोलिपल्ट बिहान मात्रै छाडिदिन्छन् ।’
तेस्रो लिंगीको जीवनयापनका लागि सरकारले केही नगरेको गुनासो छ ममताको । उनी भन्छिन्, ‘अहिलेसम्म जे जति काम भएको छ, त्यो सबै विदेशी दाताले गरेका हुन्, सरकारबाट हाम्रा लागि केही भएको छैन ।’
समाजबाट बहिष्कृत तेश्रो लिंगीलाई स्वरोजगार बनाउने उद्धेश्यले सहयात्री समाज नेपालले वैशाखमा पर्साका १४ पालिकामा सीपमूलक तालिमका लागि ज्ञापनपत्र बुझाएको थियो । सुरज लिम्बुले भने, ‘तर पालिकाबाट अहिलेसम्म त्यसको कुनै जवाफ आएन ।’ सीपमूलक तालिम पाए तेस्रोलिंगी काम वा जागीरका लागि अन्यत्र धाउनु पर्ने वा गलत पेशामा लाग्नु पर्ने बाध्यता अन्त्य हुने उनीहरुको विश्वास छ ।
यौनपेशामा लाग्दा तेस्रोलिंगी प्राणघातक विभिन्न संक्रमणको सिकार पनि भइरहेको लिम्बु बताउँछन् । उनका अनुसार, पर्सामा एचआइभी एड्सबाट संक्रमित भइ नियमित औषधी सेवन गर्नेको संख्या ६ सय भन्दा बढी छ, तीमध्ये तेस्रो लिंगीको संख्या मात्रै १ सय छ । उनका अनुसार, पर्सामा यौनकर्मी पुरुषको संख्या ५० छ ।