खोजवाणी संवाददाता
जनकपुर, साउन २९

उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगाबट आएको पत्र सार्वजनिक गर्ने कर्मचारीलाई कारवाही गर्ने भएको छ ।

सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री यादवले अख्तियारको पत्र सार्वजनिक गर्ने कर्मचारीबारेमा छानविन प्रक्रिया अघि बढेको जनाउँदै उनले छानविन गरी कारवाही गर्ने जनाइन् ।

उद्योग वाणिज्य तथा पर्यटन मन्त्री यादवले भनिन्, ‘हामीले मन्त्रालयबाट आन्तरिक छानविन थालिसकेका छौँ छिट्टै नै अख्तियारको पत्र प्रायः हरेक कार्यालयहरुमा आउनु स्वाभाविक नै हो, यस मन्त्रालयमा पनि आयो, यस मन्त्रालयले अख्तियारको पत्रको जवाफ दिन नपाउँदै एकाएक मन्त्रालयको गोप्य कागजातहरु अन्यत्र सार्वजनिक हुनु गम्भिर विषयवस्तु रहेकाले यसबारेमा हामी गम्भिररुपमा छानविन गरिहेका छौँ, छिट्टै नै पत्ता लगाएर कारवाहीको दायरमा ल्याउने छौँ ।’

मन्त्री यादवले आफ्नो मन्त्रालयले फागुन महिनामै यस मन्त्रालयले खर्च गर्न नसकेको रकम अर्थ मन्त्रालयमा रकमान्तर गरी पठाइएको र मन्त्रालयको सर्वर गडबडीका कारण समावेश गरिएकाले गलत सन्देश गएको भनि प्रस्टिकरण दिइन् ।

उनले विगतमा पनि मुख्यमन्त्रीदेखि मन्त्रीहरुलेपनि रकमान्तर गर्दै आएको देखिएको कारणले पनि रकमलाई फ्रिज हुनबाट जोगाउनलाई आफुहरुले सरकारको प्रक्रिया अनुसार नै रकमान्तर गरेको बताइन् ।

उनले रकमान्तर गरिएको र विकास निर्माणको कामको नाममा कमिसन लिएको गलत र निराधार आरोप रहेको बताइन् ।

उनले भनिन्, ‘यस मन्त्रालय तथा आफुमाथि लगाइएको आरोपसहित पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएपनि आफुहरुले यसलाई गम्भिर रुपम लिएका छौँ, उनले अघि थप्दैँ भनिन्, ‘आरोप लाग्दैमा आफुले प्रक्रियागतरुपमा रकामन्तर गरेको मन्त्रालयामा रहेको कागजातहरुले स्पष्ट नै पार्नेछ भने कमिसनहरुको पनि वाहियात हो ।’

कुनैपनि विकास निर्माणको काम अघि ई–बिडिंग गर्नुपर्ने र ई–बिडिंगको क्रममा कुनैपनि किसिमको रकमको चलखेल हुने सवाल नै नरहेको दावी गर्दै मन्त्री यादवले आफुमाथि नियोजितरुपमा कमिसन लिएको हल्ला अफवाहरुपमा फैलाएको दावी गरिन् ।

उनले ६५ प्रतिशत भन्दा बढी विकास निर्माणको काम सम्पन्न गरेको दावीसमेत गरिन् ।