
खोजवाणी
जनकपुर, भदौँ ७
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरलालो मुलुक सुन तस्करहरुको अखाडा बन्न नदिनका लागि भारतीय र चिनिया कनेक्सनलाई निस्तेज पार्नसक्नु पर्ने बताएका छन् ।
बिहीबार नेपाली काँग्रेसद्वारा जनकपुरधाममा आयोजित आन्तरिक विशेष अभियान अन्तर्गत नगर कार्य समितिको विस्तारित बैठकमा सहभागी हुन आएका नेता डा. शेखर कोइरालाले अहिले मुलुक अन्तर्राष्ट्रिय सुन तस्तरहरुको अखाडा बनेको बताएका हुन् ।
उनले भारतिय र चिनिय सुन तस्करहरु खुलेआमरुपमा लागेकाले उनीहरुलाई पहिचान गरी सरकारले तत्काल कारवाही गर्न सक्नुपर्ने बताए । नेपाल सुन तस्करहरुको अखाडा नरहेको भन्ने कुरा अन्तर्राष्ट्रिय स्तरमै चिर्नसकेपछि मात्रै मुलुकको साख जोगिने उनको भनाइ छ । उनले मुलुकको साख जोगाउनका लागि सरकारले वास्तविक अनुसन्धानसहित कारवाही प्रक्रियालाई तिव्रता दिनुपर्ने बताए ।
नेता डा. कोइरालाले भने, ‘भारतमा वर्षेनी करिब १४ सय टनसम्म सुनको खपत हुँदा पनि वर्षमा भारतले करिब एक हजार टनसम्म मात्र सुन आयात गर्ने गरेको छ । यस बाहेकका करिब ४ सय टन सुन अवैध बाटोबाट नै विभिन्न माध्यमबाट भारत भित्रिने गरेको छ ।’ उनले अघि थप्दैँ भने, ‘सुन तस्करकाण्डमा चिनियाँ नागरिकहरु पनि पक्राउ परेको र यसमा विमानस्थलका कर्मचारी अधिकारीहरुको समेत संलग्नता रहेको भन्ने कुराले पुष्टि गर्छ, कति ठुलो संजाल तयार पारी कहिले देखि सुन तस्करको अखाडाको रुपमा हाम्रो मुलुक प्रयोग हुँदै आएको छ ।’
उनले मुलुकलाई सुनको तस्करहरुको स्थल र ट्रान्जिटप्वाइन्ट बन्नबाट जोगाउनुपर्ने अहिलेको सरकारको मुख्य दायित्व रहेको बताए ।
उनले मुलुकको विमानस्थल, अध्यागन विभाग, देशीविदेशी चलखेल, राजनीतिक दलका केही नेताहरु सम्मिलित नहोला भनेर भन्न सक्ने अवस्था नरहेपनि मुलुकको साख जोगाउन अहिलेको आवश्यकता रहेको बताए ।
उनले अर्को प्रसंगमा नेपाली काँग्रेसको भगिनी संगठन नेपाल महिला संघमा देखिएका असन्तुष्टि जायज रहेको बताएका छन् । उनले केन्द्रिय अध्यक्ष देखि कसैलाईपनि कमिटी भंग गरी नयाँ अध्यक्ष नियुक्ती गर्ने अधिकार नरहेकाले नौ वटा जिल्लामा नयाँ कमिटी गठन गरिएको बताए ।
उनले कांग्रेसको सहयोगमा बनेको वर्तमान सरकारलाई कुनै किसिमको संकट नरहेकोसमेत बताए ।
यस कार्यक्रममा काँग्रेसका नेता नैनसिंह महर, प्रदेश सांसद रामसरोज यादव, काँग्रेस धनुषाका सभापति योगेन्द्र पजियार, चन्द्रमोहन यादवलगायतका नेताहरुको सहभागिता रहेको थियो ।