
खोजवाणी संवाददाता
जनकपुर, भदौँ १७
जनताका लागि दस वर्षे जनयुद्ध लडेर आएपछि सत्तामा रुमल्लिएका नेकपा माओवादी केन्द्रले देशव्यापी रुपमा जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा लागेपछि स्थानीय सर्वसाधारणले गम्भिरतापूर्वक लिन थालेका छन् ।
धनुषासहित देशव्यापीरुपमा माओवादीले थालेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानका कारण धनुषाको १८ वटै पालिका अन्तर्गत रहेको हरेक वडामा संगठन गठन तथा पुनर्गठनसँगै विस्तार अभियानले समेत तिव्रता लिएको छ ।
यसको प्रत्यक्ष प्रभाव धनुषाको पूर्वी भेगमा परेको देख्न सकिन्छ । यस क्षेत्रका हरेक पालिका तथा वडा कमिटीहरुलाई माओवादीका नेताहरु ग्रामिणस्तरसम्म पुगेर अभियानलाई जनतासँग जोडेपछि जनताले समेत साथ दिन थालेको नेताहरुको भनाइ छ ।
यससँगै माओवादीले संगठन निर्माण अभियानलाई तिव्रता दिएको हो ।
धनुषाको शहिदनगर नगरपालिका, कमला नगरपालिका, विदेह नगरपालिका, जनकनन्दिनी गाउँपालिका, त्यस्तै हँसपुर नगरपालिका, बटेश्वर नगरपालिका, गणेशमानचारनाथ नगरपालिका, मिथिला नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनौजी गाउँपालिका, धनुषाधाम नगरपालिका, सबैला नगरपालिका, जनकपुरधाम उपमहानगरपालिकालगायतका स्थानीय तहको प्रायः वडामा पार्टी कमिटी पुनःगठन तथा संगठन विस्तार अभियानलाई समेत तिव्रता दिएका हो ।
संसदीय राजनीतिमा लागेपछि माओवादीले जनतालाई चटक्कै विस्रिएको आरोप लागिरहँदा थालेको यस अभियानले नेतासँगको प्रत्यष भेटघाटमा जनगुनासा सुन्ने र जनतासँग भलाकुसारी गर्न थालेपछि स्थानीयवासीहरुले समेत माओवादीले थालेको अभियानलाई सकारात्मकरुपमा लिएको धनुषाको गणेशमानचारनाथ नगरपालिकाका स्थानीय वीरेन्द्र कुमार यादवले बताए ।
पहिलोपटक माओवादी संसदीय दलको निर्वाचनमा सहभागी हुँदा जनताले माओवादीलाई अत्याधिक मत दिएको स्मरण गर्दै माओवादीले आफ्नो पुरानो प्रतिष्ठा बनाउनका लागि जनतासँग माओवादी रुपान्तरण अभियान प्रभावकारी सावित हुन थालेको शहिदनगर नगरपालिकाका निवर्तमान मेयरसमेत रहेका युवा नेता उदय कुमार बरबरिया (यादव) ले बताए । नेता बरबरियाले स्थानीय जनताको घर–घर तथा वस्तीमा पुगेर माओवादी जनताको पार्टी रहेको र जनताका लागि माओवादी रुपान्तरण हुनका लागि जनता समक्ष उपस्थित भएको बताए ।
नेकपा माओवादी केन्द्र केन्द्रीय समितिको निर्णय अनुसार केन्द्रिय सदस्यसमेत रहेका धनुषा इन्चार्ज अजयशंकर नायक अविनाशको अगुवाईमा धनुषाको हरेक स्थानीय तहको हरेक वडामा शनिबार जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको उद्घाटन भएको थियो ।
जनतासँग प्रत्यक्षरुपमा माओवादीका नेताहरुसँग भेटघाट गरेर गुनासाहरु राख्न पाउन थालपेछि स्थानीयवासीहरुसमेतले यस अभियानलाई निकै चासोका साथ हेर्न थालेका छन् ।