
खोजवाणी संवाददाता
काठमाण्डौ, भदौँ २०
नेपाली काँग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण गरेका राजावादी श्याम बहादुर सापकोटालाई पक्राउ गरिएको छ । उनलाई प्रहरीले पक्राउ गरेको हो ।
बुधबार रिपोटर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रम सम्पन्नपछि फर्किने क्रममा पुर्वमन्त्रीसमेत रहेका सहमहामन्त्री यादवमाथि नुवाकोटको विदुर नगरपालिका तुप्चे घर भएका सापकोटाले खुकुरीले लिएर सांघातिक आक्रमण गरेका थिए ।
धारिलो हतियार खुकुरी प्रहारबाट नेता यादवको टाउकोमा चोट लागि घाइते भएका छन् भने आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले घटनाबारे जानकारी गराउँदै उनले आफूलाई राजावादी रहेको बताएको उल्लेख गरेको छ ।
रिपोटर्स क्लबका प्रतिनिधि ईश्वर कार्कीले नेता यादवले क्लबमा यादवसहितका नेताहरुसँग सुन तस्करी प्रकरण, मुलुकमा बढ्दो भ्रष्टाचारलगायतका विषयमा साक्षात्कार गरेको थियो । साक्षात्कारमा करिब २५ मिनेट सम्बोधन गरेका नेता यादव त्यसपछि राप्रपाका महामन्त्री डा. धवलशमशेर राणासँगै बाहिरिए । क्लबबाट बाहिरिएर गाडी चढ्नै लाग्दा उनीमाथि पछाडीबाट आक्रमण भएको कार्कीले बताए ।
आक्रमणकारी सापकोटाले कार्यक्रम अवधिभर क्लबभित्रै बसेर भाषण सुने ।
क्लबबाट नेता यादव बाहिरिएसँगै उनले पिछा गर्दै एकाएक आक्रमण गरेको बताइएको छ । ट्रमा सेन्टरमा उपचाररत्त नेता यादवलाई उनले झोलाबाट खुकुरी निकालेर प्रहार गरेको उनले बताए । नेता यादवको टाउकोको पछाडिको भागमा गहिरो चोट लागेको उनले बताए ।