स्थानीयद्वारा कमसल तथा गुणस्तरहीन काम भएको आरोप

खोजवाणी संवाददाता
जनकपुरधाम, भदौँ २१ ।

जनकपुरधाममा एक पोखरीको सौन्दर्यकरणमा संघीय सरकारले तीन वर्षदेखि लागनी गरेपनि बालुवामा पानी दिए झैँ भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ स्थित ओसरामा रहेको अधिकारी संघीय सरकारको मातहतमा रहेको संघीय आयोजना कार्यान्वयन ईकाईले विभिन्न समयमा विभिन्न माध्यमबाट अधिकारी पोखरीको घाट निर्माण, नाला तथा पिसिसि सडक निर्माणमा लगाएको लगानी अर्थहीन सावित भएको हो ।

पटक पटकको पोखरी वरिपरि पिसिसि सडक ढलान निर्माण, पोखरीमा घाट निर्माणलगायतका काम गर्दा पोखरीको दक्षिण र पूर्व तर्फको निर्माण भएको सडक भासिएको छ ।

No description available.

करिब तीन वर्षदेखि पोखरीको सौन्दर्यकरणका लागि बजेट विनियोजन हुँदापनि स्थानीयवासीले दुःख भोग्नु परेको भन्दै कमसल तथा गुणस्तरहीन कार्य भइरहेको स्थानीयवासीहरुको आरोप छ ।

स्थानीय उपेन्द्रकुमार यादवले लाखौँ रुपैयाँको बजेटमा ठेकेदारले लापरवाहीढंगले कमसल तथा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोगले गर्दा निर्माण नहुँदै भासिने गरेको आरोप लगाए ।

त्यस्तै स्थानीय रामजिवन यादवले यस पोखरीमा उपभोक्ता समिति र संघीय सरकारको लगानीमा टेन्डरमा समेत काम भइरहँदा कुन काम कसले गरिरहेको छ भन्ने कुरा नै स्पष्ट नभएको बताए ।

सार्वजनिक पोखरीको सौन्दर्यकरण तथा निर्माणका क्रममा स्थानीयस्तरमा ठेकेदार वा सम्बन्धित निकायले नागरिक वडा पत्र झुण्ड्याउनुपर्ने व्यवस्था रहेपनि स्थानीय नागरिकलाई जानकारी पाउनुपर्ने अधिकारबाट वञ्चित गरिएको उनको भनाइ छ ।
त्यसैगरी स्थानीय बिक्रम यादवले ठेकेदार कम्पनी र संघीय आयोजना कार्यान्वयन ईकाई कार्यालयले स्थानीयवासीलाई छल गरेको आरोप लगाए ।
तर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष रामबृक्ष यादवले अमरज्योति निर्माण सेवा कम्पनीले टेण्डर लिई काम गरिरहेको भन्ने पत्र सम्बन्धित कार्यालयबाट जानकारी भएको बताए । वडाअध्यक्ष रामवृक्ष यादवले स्थानीयस्तरमै पटक पटक विवाद उत्पन्न हुँदा ठेकेदार तथा सम्बन्धित कार्यालयका प्रतिनिधिले समस्या समाधानका लागि खोज्ने गरेको बताउँदै उनले भने, ‘ठेकेदर कम्पनीले हतारहतारमा अन्तिमसमयमा आएर काम गर्दा निर्माण भएकाहरुपनि भासिने र भत्किने गरेकाले समयमै काम गर्दा यस्तो समस्या उत्पन्न नै हुने थिएन ।’

करिब १८ कठ्ठा जग्गा ओगटेको अधिकारी पोखरीमा उपभोक्ता समिति मार्फत ५० लाख रुपैयाँको योजनामा सडक छेउको पोखरी डिलमा भित्ता लगाएको छ भने पोखरीमा तीन वटा घाट निर्माण, पिसिसि सडक ढलान तथा नाला निर्माणको कामको म्याद सम्पन्न भएपनि पुनः आउँदो पुस मसान्तसम्म ईकाईको कार्यालयले म्याद थप गरेको छ ।

यसका लागि ९७ लाख रुपैयाँ बजेट रहेको ईकाई कार्यालयको आयोजना प्रमुख ईन्जिनियर प्रदीप खनालले जानकारी दिए ।

No description available.

आयोजना प्रमुख ईन्जिनियर खनालले स्थानीयवासीको असहयोगकै कारणले समयमै काम सम्पन्न नभएको बताए । उनले अधिकारी पोखरी वरिपरिको उत्तर तथा पुर्वपट्टी बाटो निर्माण भएपनि पोखरीको डिल तर्फ ढलान गरिएको सडक भासिएको बताए । उनले यसको निर्माणका लागि र अन्य बाकी निर्माण कार्यहरुसमेत सम्पन्न गर्नका लागि ठेकेदार कम्पनीलाई भनिसकेको स्पष्ट पारे । उनले अधिकारी पोखरीको निर्माणलगायतका काम सम्पन्न गर्नका लागि ठेकेदारलाई तत्कालै निर्देशन दिएको बताए ।

No description available.