खोजवाणी संवाददाता
जनकपुर, भदौँ २२
६० किलो सुन प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा बाराका सुनचाँदी व्यवसायी शिवकुमार सफर रहेको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिए ।
पक्राउ परेका आरोपित व्यवसायी सफर भने बारा जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष हुन् ।
त्रिभुवन विमानस्थलबाट बरामद सुन तस्करीमा उनको पनि संलग्नता रहेको पाइएपछि बिहीबार बेलुका पक्राउ गरिएको डिआइजी कडायतले बताए ।
आरोपित सफरलाई सिआइबीको नियन्त्रणमा राखिएको र आज म्याद थपका लागि अदालत उपस्थित गराइँदै छ ।
यससँगै ६० किलो सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ ।
यसअघि पनि सुन प्रकरणमा राहुल महरालाई पक्राउ गरिएको थियो भने दिपेश पुनसँग पनि सोधपुछ गरिएको छ ।
गत साउन २ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको थियो ।