खोजवाणी संवाददाता
जनकपुर, भदौँ २२

नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत धनुषाको कमला नगरपालिकामा नगरस्तरीय सम्पर्क कार्यालय स्थापना गरेको छ ।

कमला नगरपालिकामा नगर सम्पर्क कार्यालय उद्घाटन गर्दै शहिदनगरपालिकाका निवर्तमान मेयर उदय कुमार यादव बरबरियाले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत कमला नगरपालिकाको विभिन्न वडा तथा टोलमा जनतासँग भेटघाटका क्रममा माओवादीका नेताहरुसँग गुनासा राख्दै कार्यालय स्थापना गरि पार्टीको गतिविधि सञ्चालन गर्न दवाव आएपछि नगरस्तरीय कार्यालय स्थापना गरिएको बताए ।

जनतासँग माओवादी विशेष अभियान धनुषाको कमाण्ड नम्बर २ का इन्चार्जसमेत रहेका युवा नेता बरबरियाले कार्यालय स्थापना भएपछि जनताका गुनासा तथा कामकाजमा सहयोग हुने र व्यवस्थितरुपमा पार्टी गतिविधिको कामहरु हुने बताए ।

माओवादी नेताहरुपनि प्रत्यक्षरुपमै नेता, कार्यकर्ता र जनतासँगको समन्वय सहकार्यका लागि सहज भएको उनको भनाइ छ ।