खोजवाणी संवाददाता
जनकपुर, भदौँ २२

रौतहटकै सबैभन्दा ठुलो उद्योग लामोसमय देखि बन्द रहेको श्रीराम सुगर मिल्स सञ्चालनका लागि स्थानीय अगुवाहरुले पहलकदमी लिँदै संघीय राजधानी धाँएका छन् ।

स्थानीय अगुवाहरुले पहलकदमी लिएसँगै उनीहरुले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेर सुगर मिल सञ्चालनका लागि वातावरण बनाउन आग्रह गरेका छन् ।

उखु उत्पादक किसान सङ्घका अध्यक्ष अशोक कुमार यादवको नेतृत्वमा गएको सर्वदलीय टोली बिहीबार काठमाडौँ स्थित समाजवादीका अध्यक्ष नेता नेपालसँग उनकै निवासमा भेटेर मील सञ्चालन गराउन पहलको लागि आग्रह गरेका छन् ।

भेटघाटका क्रममा नेता नेपालले सकारात्मक पहल गर्ने बताएका थिए। नेता नेपालले तत्कालै प्रधानमन्त्री प्रचण्डसँग फोनमा कुराकानी गर्दै सर्वदलीय टोलीलाई भेट्न समय मिलाइदिएको टोलीमा सहभागी नेता रेवन्त झाले बताए । त्यस्तै पछिल्लो समय मिलको स्वामित्व लिएको शिव शक्ति ग्रुप लाई समेत कुरा गरेर नेता नेपालले टोली भेटाउन पहल गरेका थिए ।

हजारौँ किसानको जिविका चल्ने माध्यमको रूपमा रहेको श्रीराम सुगर मिल्स सञ्चालन गर्न सरकारबाट पाउने सुविधाको लागि पनि पूर्णरुपमा पहल गर्ने नेता नेपालले प्रतिबद्धता जनाएको नेता झाले बताए । सर्वदलीय टोलीमा सङ्घका अध्यक्ष अशोक कुमार यादव, प्रदेश सांसद सुनिल कुमार यादव, नेता रेवन्त झा, बृजकिशोर यादव, दीपक यादव, अनिल यादव लगायतको सहभागिता रहेका थिए ।
गरुडा स्थित महमदपुरमा श्रीराम सुगर मिल्स स्थापना हुनु अघि जिल्लाको अधिकांश गाउँमा ठुलो आर्थिक विपन्नताले पिडादायी अवस्थाबाट गुज्रिनु परिरहेको छ ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद प्रसाद कोइरालाको पहलमा २०५१ सालमा गरुडामा श्रीराम सुगर मिलको स्थापना भएको थियो । उद्योगपति दिवाकर गोल्छाको सुमधुर व्यवहार र सहयोगले जिल्लाको प्रायः सबै गाउँका किसानले नगदे बालीको रूपमा उखु खेती उनकै पहलमा गरेका थिए । खास गरी बलौटे माटो भएको लालबकैया नदी किनारका गाउँ हरू भसेढवा , झौवा, हरसाहा, फटुवा, बरगिनिया, घुसुकपुर, मर्यादपुर, गमहरीया, टिकुलिया, कर्कच, बहादुरपुर, समनपुर, धरमपुर, सिङरमनलगायतका ग्रामिण किसानले एकैपटक उखु खेती गर्न सुरु गरेका थिए ।

यो सुगर मिल बन्द हुँदा उखुखेती गर्ने जिल्लाका २० हजार भन्दा बढी किसान प्रत्यक्ष मारमा परेका छन् ।