
खोजवाणी संवाददाता
जनकपुर, भदौँ २२
जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दुई वर्ष विना केन्द्रीय समितिकै पार्टी गतिविधि सञ्चालनमा रहेको छ ।
जसपाबाट अलग भएर गठन भएको लोसपाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा पनि विगतको निर्वाचन भन्दा यसपटकको निर्वाचनमा निकै कमजोर परिणाम ल्याउँदा नेता तथा कार्यकर्तापनि निकै निरास छन् ।
कमजोर अवस्थाबाट गुज्रिरहेको लोसपा नेपालले यसैवीच केन्द्रीय समितिलाई पुर्णता दिने भएको छ ।
भदौँ १० गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट केन्द्रीय समिति गठन गर्ने म्यान्डेट पाएका लोसपाका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति, कार्यकारिणी समिति, पदाधिकारी समिति तयारी अवस्थामा राखेको जनाइएको छ । तर अध्यक्ष ठाकुरले भने अहिलेसम्म सार्वजनिक गर्ने मिति तय गर्न सकेका छैनन् ।
विधानमा अध्यक्ष १ जना तथा आवश्यकता अनुसार वरिष्ठ नेता, सहअध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सहमहासचिव, सचिव, प्रवक्ता, कोषाध्यक्ष र सहकोषाध्यक्षहरु रहने लोसपाले जनाएको छ ।
लोसपा नेपालको केन्द्रीय समिति ३२४ सदस्यीय रहेका छन् भने कार्यकारिणी समिति ५१ सदस्यीय बनाएको एक कार्यकारिणी सदस्यले जनाएको छ । लोसपा स्थापना भएको २ वर्ष बितेपनि केन्द्रीय समिति बिना नै पार्टी गतिविधिहरु सञ्चालनमा रहेको छ । केन्द्रीय समितिलगायत अन्य समितिहरू बनाउने जिम्मेवारी पाएका अध्यक्ष ठाकुरले समिति बनाउन अझै कति दिनसम्म लाग्ने ठेगान नभएको एक नेताले बताए ।
लोसपाको अन्तरिम विधानमा पार्टीको केन्द्रीय कार्यकारिणी समितिले क्षेत्रीय, सामुदायिक, समावेशी, लैङ्गिक सन्तुलन र वर्तमान सङ्गठनका वस्तुस्थितिलाई मध्यनजर गर्दै ४०१ सदस्यसम्मको केन्द्रीय समितिका गठन गर्ने योजना रहेको जनाइएको छ ।
केन्द्रीय सल्लाहकार समिति, विज्ञ समिति, अनुशासन समिति, निर्वाचन समिति र लेखा परीक्षण समितिका अध्यक्ष र सचिवहरू केन्द्रीय समितिका पदेन सदस्य हुने अन्तरिम विधानमा उल्लेख रहेको एक नेताले बताए ।
विधान अनुसार केन्द्रीय समितिको बैठक कम्तीमा ६ महिनामा एक पटक बस्ने उल्लेख गरिएको छ ।
त्यस्तै राजनीति समिति १५१, केन्द्रीय सल्लाहकार समिति ३१, केन्द्रीय विज्ञ समिति २५, केन्द्रीय अनुशासन समिति १५, केन्द्रीय निर्वाचन समिति २१, केन्द्रीय लेखा परीक्षण समिति ११ सदस्यीय रहने पार्टीको अन्तरिम विधानमा व्यवस्था गरिएको छ ।