खोजवाणी संवाददाता
जनकपुर, भदौँ २२
चिनियाँ राजदुत चेन सोङले गैर कुटनैतिक अभिव्यक्ति दिएको भन्दै सत्ताधारी गठनबन्धन दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विरोध प्रदर्शन गरेका छन् ।
शुक्रबार जनकपुरधाम उपमहानगरमा लोसपाका अगुवा कार्यकर्ताहरुले नगरको परिक्रमा गर्दै चिनियाँ राजदुत सोङको अभिव्यक्तिको विरोधमा प्रदर्शन गरेका हुन् ।
विदेशी राजदुतले सार्वभौम सम्पन्न गौरवशाली इतिहास बोकेको राज्य नेपालको अखण्डता र स्वतन्त्रताको गरिमामाथि हस्तक्षेपकारी अभिव्यक्ति दिएको भन्दै लोसपा नेपाल धनुषाले विरोध प्रदर्शन गरेको जिल्ला अध्यक्ष परमेश्वर साहले जनाएका छन् ।
लोसपा नेपाल मधेस प्रदेशका अध्यक्ष जीतेन्द्र सोनलले नेपाल–भारतको सांस्कृतिक आर्थिक सम्बन्ध लगायतको विषयमा चिनियाँ राजदुत सोङले गरेको टिप्पणी कुटनीति मर्यादा विपरित रहेको टिप्पणी गरे ।
एउटा सार्बभौमसत्ता सम्पन्न मुलुकको बारेमा यस्तो अभिव्यक्ति दिनु हेपहा प्रवृत्ति रहेकाले घोर भत्सर्नायोग्य रहेको उनको भनाइ छ ।
मधेश प्रदेश सरकारका पुर्व मन्त्रीसमेत रहेका लोसपा मधेश प्रदेश अध्यक्ष सोनलले राजदुत सोङलाई अविलम्ब स्पष्टीकरण सोध्नुपर्ने भन्दै उनले सम्बन्धित निकायले चीन सरकारसँग पहल गरी राजुदत सोङलाई नसिहत दिई अविलम्ब फिर्ता पठाउनुपर्ने सरकारसँग माग गरे ।
यस प्रर्दशनमा लोसपा मधेश प्रदेशका सचिव पप्पु चौधरी, धनुषा जिल्ला अध्यक्ष परमेश्वर साह, उपाध्यक्ष प्रमोद यादव, सचिव जीवेन्द्र झा, लोसपा नेपालका नेता एवं दलित विकास समतिका अध्यक्ष रामप्रवेश बैठालगायतका सक्रिय नेता एवं कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।