खोजवाणी संवाददाता
जनकपुर, भदौँ २२

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको अगुवाइमा संघीय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ज्ञापन पत्र बुझाएका छन् ।

शुक्रबार अर्थमन्त्री डा. प्रकाश शरण महतले ज्ञापनपत्र बुझाउँदै जलेश्वर नाकालाई वैकल्पिक व्यापारिक मार्गको लागि तत्काल व्यवस्थापन गरिदिनका लागि अर्थमन्त्रीसँग माग गरेका हुन् ।

यस क्रममा अर्थमन्त्री डा. महतले तेस्रो मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्नका लागि आफु सकारात्मक रहेको भन्दै यसका लागि आवश्यक पहल गर्नेसमेत आश्वासन दिए ।

जनकपुरधाम उद्योग वाणिज्य संघको टोलीले महोत्तरीको जलेश्वर–भिठ्ठामोड नाकालाई मुख्य भन्सार नाकामा स्तरोन्नति गरिदिनका लागि अर्थमन्त्री डा. महतसँग माग गरेका छन् ।

अर्थमन्त्री डा. महतले तेस्रो मुलुकमा सामान आयात निर्यात गर्नका लागि गर्नुपर्ने आवश्यक तयारी र अहिलेको अवस्थाको बारेमा थप जानकारी लिएर यस सम्बन्धी प्रक्रिया अगाडि बढाउने बताए ।

जलेश्वर भन्सार कार्यालयलाई अविलम्ब मुख्य भन्सार कार्यालयमा स्तरोन्नति गर्नका लागि नेपाल–भारत दुवैतर्फ आवश्यक पूर्वाधार तयार रहेका बारेमा अर्थमन्त्री डा. महतलाई जानकारी गराइएको र यसको जवाफमा सम्बन्धित निकायसँग थप छलफल गरी आवश्यक काम गर्ने प्रतिबद्धता अर्थमन्त्री डा. महताले जनाएको छ ।

अहिले तेस्रो मुलकबाट आउने मालसामान मधेस प्रदेशका लागि वीरगञ्जमार्फत आउने भए पनि यातायातको दूरी बढी भएका कारण ढुवानी लागत बढी लाग्दा मालसामानको मूल्यसमेत वृद्धि भएकाले जलेश्वर नै उत्तम विकल्प भएको उनको भनाइ छ ।

भारतस्थित पश्चिम बङ्गालको हलदिया बन्दरगाहबाट वीरगञ्ज हुँदै काठमाडौंसम्म मालसामान लैजाँदा एक हजार एक सय १९ किमी दूरी पार गर्नुपर्नेमा जलेश्वरबाट आउँदा झण्डै दुई सय ५० किमी दूरी कम हुने उनी बताउँछन् ।
पश्चिम बङ्गालको हलदिया बन्दरगाहबाट बरौनी, सम्सतीपुर साहरघाट हुँदै भिठामोड, जलेश्वर भन्सार कार्यालयबाट बर्दिबास, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौंसम्मको दूरी आठ सय ८१ किमी हुँदा दुई सय ३८ किमी दूरी छोटिने अध्यक्ष महासेठले भने ।

संघले बुझाएको ध्यानाकर्षणपत्रमा लेखिएको छ, ‘जलेश्वर भन्सार नाकाबाट रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, गाईघाट, उदयपुर, रामेछाप, दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर, काठमाडौंसम्म मालसामान पठाउँदा मूल्यमा अत्यधिक कमी आउनेसक्ने हुनाले महोत्तरीको जलेश्वर भन्सार कार्यालयलाई तेस्रो मुलुकबाट आउने मालसामान आयातनिर्यात गर्ने मुख्य नाकाका रुपमा स्थापित गरिदिन गरिएको छ ।’

त्यस्तै मधेस प्रदेशको राजधानी जनकपुरधाममा रेल्वसेवा सञ्चालन भइरहेकाले यसबाट अधिकतम लाभ लिनेगरी जनकपुर भन्सार कार्यालय तथा जटही भन्सार कार्यालयको स्तरोन्नतिका लागि ध्यानाकर्षण गराएको छ ।

यसअघि पुर्व अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष ०७९/०८० को बजेट वक्तव्यमा जलेश्वरमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन गर्नेे घोषणासमेत गरेका थिए ।

No description available.No description available.