खोजवाणी संवाददाता
काठमाण्डौ, भदौँ २६

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ ।

सामान्य रुघाखोकी लागेका नेम्वाङलाई गएराति हृदयघातका कारण उपचारको क्रममा राति १ः ३० बजे काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफलेले जनाएका छन् ।

संविधानसभाका अध्यक्षसमेत रहेका एमालेको संसदीय दलका उपनेता नेम्वाङ बारे जानकारी लिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायतका नेता अस्पताल पुगेका थिए ।

नेम्वाङको पार्थिव शरीर ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिदैँछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेम्वाङको अप्रत्यासित निधनले आफू अत्यन्तै मर्माहत र स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत राष्ट्रपति पौडेलले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको बताउँदै दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरे ।

विसं २००९ फागुन २८ गते जन्मेका नेम्वाङ नेपाली राजनीतिमा शालिन र सबैलाई मिलाएर जान सक्ने नेताको छवी बनाएका थिए ।
स्नातक अध्ययनका क्रममा विसं २०२८र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति समेत थिए ।

विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र मालेमा सङ्गठित उनी एमाले केन्द्रिय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षसम्मको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

May be an image of 11 people, wedding, dais and text
विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता तथा पार्टी उपाध्यक्षको जिम्मेवारीमा रहेका थिए ।
नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष थिए ।

विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका थिए । नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए ।

विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका स्वं नेम्वाङ वरिष्ठ अधिवक्तासमेत थिए ।