खाना नराम्रो भएको र टेलिफोनको एक सय शुल्क लिने गरेको कैदीबन्दीको आरोप

खोजवाणी संवाददाता
वीरगंज, भदौँ २७

पर्साको वीरगंज स्थित बाल सुधार गृहमा रहेका बालक कैदीबन्दीहरु बीच भएको झडपमा परी ११ जना घाइते भएका छन् ।

झडपका क्रममा उनीहरुले प्रहार गरेको ढुङगाबाट तीन जना प्रहरीसमेत घाइते भएका हुन् ।

वीरगंजको विर्ता स्थित बाल सुधार गृहमा तीन साताअघि भक्तपुरको बाल सुधार गृहबाट ल्याइएका १८ जना र यहाँ रहँदै आएका बालकहरु बीच मंगलबार राति भएको विवादले उग्ररुप लिएपछि दुवै पक्षमा झडप हुदाँ सुधारगृह रातभर तनावग्रस्त रह्यो ।

यस झडपमा परी ११ जना बालक र तीन जना प्रहरी घाइते भएको पर्साका प्रहरी उपरीक्षक कोमल साहले जनाएका छन् । घाइते भएका सुधार गृहका ११ जना बालकलाई मंगलबार राति नारायणी अस्पतालमा उपचार गराइएको र अहिले जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको उनले बताए ।

प्रहरी उपरीक्षक साहले भक्तपुरको बाल सुधार गृहमा भदौँ ४ मा उत्पात मच्चाएकामध्ये १८ जना बालकहरुलाई वीरगंजको बाल सुधार गृहमा ल्याएर राखिएको थियो । यहाँ पहिलेदेखि १३१ जना बालक रहँदै आएका थिए । सुधार गृहमा अहिले कूल १४९ जना बालकहरु रहेको गृह प्रमुख टिका काफ्लेले बताए ।

कैदीबन्दीले सुधार गृहभित्र तोडफोड गरेपछि अवस्थालाई नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा सुधार गृहमा पुगेको थियो । तर सुधार गृह भित्रबाट बालकहरुले ढुङ्गामुढा गरेर प्रहरीलाई अबेररातिसम्मपनि सुधार गृह भित्र प्रवेश गर्न दिएनन् । यसैक्रममा ढुङगाले लागेर तीन जना प्रहरीपनि घाइते भएको प्रहरी उपरीक्षक साहले बताए । अवस्थालाई नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रु ग्याससमेत प्रहार गरेको थियो ।

आजपनि प्रहरीलाई सुधार गृहभित्र भित्ररहेका बालकहरुले प्रवेश गर्न दिइरहेको अवस्था छैन । तर यता प्रहरी भने आज प्रवेश गरेर भित्रको अवस्था तथा अनुगमन गर्ने गरी तयारीमा लागेका छन् ।

बाल सुधार गृहमा मंगलबार रातिदेखि प्रदर्शन गरिरहेका बालकहरुले भने आफुहरुलाई खाना राम्रो नदिएको , घरमा फोन गर्दा एक कलको १ सय रुपैयाँ लिने शुल्क लिने गरेको, एउटै कोठामा धेरै जनालाई कोचेर राखेको, शौचालयपनि राम्रो नभएको, सुधार गृह प्रमुखले यातना दिँदै आएकोलगायतका आरोपहरु लगाएका छन् ।

आज दिउँसो प्रमुख जिल्ला अधिकारीसहितका टोली सुधार गृहमा पुगेर त्यहा प्रदर्शनमा रहेका बालकहरुसँग संवाद गरेर समस्या समाधानको पहल गर्ने पर्सा प्रहरीको भनाइ छ ।