खोजवाणी संवाददाता
वीरगंज, भदौँ २८

भक्तपुर स्थित बाल सुधार गृहबाट ल्याइएका १८ मध्ये १५ जना कैदीबन्दीलाई फिर्ता पठाउने सहमति भएको छ । सहमतिभएसँगै वीरगञ्जस्थित बाल सुधारगृहको अवस्था सामान्य भएको छ ।

करिब तीन साताअघि भक्तपुरको बाल सुधारगृहबाट ल्याइएका १८ जना बाल कैदीबन्दी र यहाँ पहिलेदेखि बस्दै आएका कैदीहरूबीच मंगलवार रातभर झडप भएको थियो ।

दुवै पक्षबीच भएको विवादले उग्ररुप लिएपछि झडप भएको थियो । झडपले उग्र रूप लिँदा अवस्था नियन्त्रण बाहिर गएको थियो । बाल कैदीबन्दी बीच भएको झडपका क्रममा ११ जना कैदी र ३ जना प्रहरी घाइते भएका थिए । पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भक्तपुरबाट आएका बाल कैदीबन्दीहरुमध्ये १५ जनालाई फिर्ता पठाउने सहमति भएपछि अवस्था नियन्त्रणमा आएको बताए ।

भक्तपुरबाट आएका बाल कैदीबन्दीहरूले नबस्ने भन्दै विरोध जनाउँदै आएका थिए । यसै विषयमा उनीहरूले सुधार गृहका नाइकेसँग विवाद गरी कुटपिट गरेपछि अवस्था तनावग्रस्त बनेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी रेग्मी, प्रहरी उपरीक्षक कोमल विक्रम शाह, वीरगञ्ज महानगरपालिका अन्तर्गत बालबालिका शाखा प्रमुख सावित्री भण्डारी, मानवअधिकारकर्मीहरू र कैदीहरु बीच बुधवार दिनभर वार्ता भएको थियो ।

बालकैदीहरूले उठाएको मागलाई सम्बोधन गर्न पर्साका प्रमुख जिल्ला अधिकारी रेग्मीले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भक्तपुरबाट ल्याइएका र पहिलेदेखि बस्दै आएका बाल कैदीबन्दी बीच भएको झडपमा बाल सुधारगृह भित्रका पर्खाल, ढोका, झ्याल, खानेपानीको ट्याङ्की, चापाकल, भान्साको सामान, बालकैदीहरू सुत्ने खाट, बिछ्यौनालगायतमा क्षति पुगेको छ ।

भक्तपुरको बाल सुधारगृहमा भदौ ४ मा जेल फुटाएर विरोध गर्दै निस्किएका मध्ये १८ जना बालकैदीहरूलाई वीरगञ्जको बाल सुधार गृहमा ल्याइएको थियो । वीरगंज स्थित बाल सुधार गृहमा पहिलेदेखि १३१ जना बालकैदी रहँदै आएका छन् । सुधारगृहमा अहिले कुल १४९ जना बालकैदी छन् । तर सुधार गृहको क्षमता भने ६० जना कैदीबन्दी राख्ने क्षमता रहेको प्रजिअ रेग्मीले जनाए ।

अदालतबाट फैसला हुदाँ बालिग रहेका सुधार गृहका कैदीहरु अहिले २५÷२६ वर्ष उमेर पुगिसकेको तर, अदालतबाट फैसला नआएसम्म सुधारगृहबाट कारागारमा राख्न नसकिने उनले बताए ।