
खोजवाणी संवाददाता
जनकपुर, भदौँ २९
मधेश प्रदेशको राजधानीमै मिटरव्याजी पीडितको घर कब्जा गरेर बसेको करिब डेढ दशकपछि पीडितले आफ्नो घरमा प्रवेश गरेका छन् ।
बिहीबार जनकपुरधाम स्थित सावित्रि गिरि दम्पतिले मिटर व्याजी पीडित संघर्ष समिति नेपाल धनुषाको अगुवाईमा घर प्रवेश गरेका हुन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ स्थित कपिलेश्वरमा रहेको मिटरव्याजी पीडित सावित्रि कुमारी गिरिको घर ०६६ सालमै मिटरव्याजी रामबाबु साहले ११ लााख रुपैयाँ लिएको भनि उनले आफ्नो धर्मपत्नी सुदामा देवीको नाममा कपाली कागज बनाइ घरबाटै बेघर गरेको थियो ।
त्यतिबेला मधेश आन्दोलनको बलमा भु–माफिया र साहु महाजनले ऋण दिने प्रलोभन देखाइ जवर्जस्ती कपाली कागज बनाइ घर जग्गा कब्जामा लिएको थियो ।
सावित्रि गिरिको घरमा त्यतिबेला धनुषाकै जनकन्दनी गाउँपालिाका स्थित ठाडी झिझाका विदेश पठाउने एजेन्ट उदय महराले रामबाबु साहसँग नौ लाख रुपैयाँ ऋण लिएर फरार भएपछि साहु रामबाबुले जमानीमा बसेकी सावित्रिसँग जवर्जस्ती ११ लाख रुपैयाँ लिएको भनि कपाली कागज बनाएको मिटरव्याजी पीडित सावित्रिले भनिन् ।
उनले त्यतिबेला मेरो घर जग्गा जवर्जस्ती कब्जा गरेर घरबाट भगाएको भनि जिल्ला प्रहरी कार्यालय धनुषामा शान्ति सुरक्षा साथ घर जग्गा कब्जा फिर्ता बनाइ पाउँ भने निवेदन दिएका थिइन् । तर त्यतिबेला प्रहरीले मिटरव्याजीसँगै मिलेर सावित्रीको श्रीमान पुरुषोत्तम गिरिलाई पनि प्रहरीले पक्राउ गरी कुटपीट गरेको समेत उनले बताइन् ।
सुरुमा रामबाबु साहले जवर्जस्ती कपाली कागज बनाएको केही महिना नवित्दै कपिलेश्वर स्थित कित्ता नम्बर ३६६ कित्ता नम्बरमा रहेको १२ धुर भन्दा बढी जग्गामा अवस्थित दुई तल्ले घरसमेत कब्जामा लिई धाकधम्की र त्रासको वातावरण सृजना गरि लखेटेको पिडित सावित्रीले बताइन् ।
मिटरवयाजी अनुचित लेनदेनसम्बन्धी बिधेयक आएपछि उनले पुनः गृह मन्त्रालयमै गएर उजुरी दिएकी थिइन् । सो उजुरी उपर कानुनी प्रक्रिया अघि बढिरहदा पिडितकै नाममा जग्गाजमिन र घरको मिटरसमेत उनकै नाममा रहेपछि मिटरव्याजी पिडित संघर्ष समिती धनुषाको अगुवाईमा सावित्री दम्पती घर प्रवेश गरेका छन् ।
उनी आफ्नो घरमा प्रवेश पाउँद निकै खुसी महसुस भएको बताइन् । तर प्रहरी प्रशासनले भने आफ्नो नाममै रहेको घर जग्गासमेत फिर्ता दिलाउन नसक्नु मुलुकको लागि दुर्भाग्य रहेको बताए ।
सो जग्गा र घरको मुल्य भने करिब दुई करोड रुपैयाँ भन्दा बढीको रहेको छ ।