खोजवाणी संवाददाता
जनकपुर, भदौँ २९

जनकपुरधाममा सडक छेउमा रहेको नालामा खसेर एक बालकको मृत्यू भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २५ स्थित लोहनाको हजाम टोल बस्ने रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको सडक छेउमा रहेको नालाको खाल्डोमा खसेर मृत्यु भएको हो ।

आज विहान रोहन घर अगाडि खेलिरहँदा एकाएक नाला तथा ढलको चेम्बरमाथि स्लैब नदिँदाको परिणामस्वरुप दुई वर्षिय बालक रोहन सो नालामा खसेको थियो । दुई वर्षिय बालकलाई परिवारजनले नदेखेपछि खोजतलास गर्दा नाला तथा ढलको चैम्बरमै खसेको थियो ।

सो नालाको चैम्बरमा टाउको तल र खुट्टा माथि रहेको अवस्थामा परिवारजनले बालकलाई निकालेपनि उनको मृत्यु भइसकेको थियो ।

मधेश प्रदेश सरकारको बजेटमा दुई वर्ष अघि सडक तथा नाला ढलान कार्य भएको थियो । सडक छेउमा नाला तथा ढलका लागि बनाइएको चैम्बरलाई खुलारुपमा छोड्दा जतिबेलापनि दुर्घटना हुनसक्ने अवस्था रहेकाले स्थानीयवासीहरुले पटक पटक जनकपुरधाम उपमहानगरपालिका र मधेश प्रदेश सरकारको सम्बन्धित मन्त्रालयमा गएर गुनासो गरेका थिए । तर त्यस तर्फ कसैले वास्ता नगर्दा आज दुई वर्षिय बालकको नालामा खसेर दुःख्द मृत्यु हुन पुगेको स्थानीय अमृता मण्डलले भनिन् ।