खोजवाणी संवाददाता
जनकपुर, भदौँ २९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको घटनालाई गम्भीर रूपमा लिएको बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आक्रमणकारीलाई प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइएको समेत बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘सांघातिक खुकुरी प्रहारको घटनालाई सरकारले गम्भीर रुपमा लिएको छ । आक्रमणकारीलाई प्रचलित कानुनबमोजिम कारबाही अघि बढेको जानकारी गराउन चाहन्छु।’

यस प्रकरका आक्रमणको घटना दोहोरिन नदिनका लागि र सुरक्षाको प्रत्याभूति मिलाउनका लागि समेत सरकार प्रतिबद्ध रहेको उनले बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले कान्ति बाल अस्पतालमा भदौ १८ गते बेलुकी उपचारका लागि भर्ना भएकी मकवानपुरकी पाँच वर्षीय बालिका रेजिशा गोपालीको उपचारका क्रममा मृत्यु भएको घटनापछि भएका कार्यबारे जानकारी गराए ।

घटना सार्वजनिक भए लगत्तै तीन सदस्यीय टोली बनाइएको र त्यसले प्रतिवेदन बुझाएको जनाए ।

आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन कदम थालिने र दोषी देखिए कारबाही गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।