
असोज १२ गते प्रदेशसभा बैठक आह्वान
खोजवाणी संवाददाता
जनकपुर, भदौँ ३१
मधेश प्रदेश सरकारले हरेक जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने भएको छ । भने यससँगै विभिन्न कार्यालयलाई गाभ्ने निर्णयसमेत गरेको छ ।
मधेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बसेको बैठकले हरेक जिल्लामा सिंचाई, यातायात र पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । सरकारले भूमिगत सिंचाई र सिंचाई कार्यालयलाई गाभ्ने निर्णय गरेको छ ।
पूर्वाधार विकास र सहरी विकासलाई गाभेर एउटै कार्यालय स्थापना गरिने भएको छ । सिँचाई र पूर्वाधार विकास डिभिजन कार्यालय अलग अलग छ । मधेश प्रदेशकै ८ जिल्लामध्ये ४ वटा कार्यालय रहेकोमा शनिवार मन्त्रिपरिषद्ले बैठकबाट गरेको निर्णय अनुसार ८ वटै जिल्लामा कार्यालय स्थापना गरिने भएको छ ।
त्यस्तै प्रदेश सरकारले प्रदेशको सबै जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना गरी सवारी साधनको दर्ता, लाइसेन्स, नवीकरण लगायतका कामलाई सहज बनाउन हरेक जिल्लामा कार्यालय स्थापना गरिएको सरकारले जनाएको छ ।
त्यस्तै रामजानकी स्टेडियमको डीपीआर असोजको तेस्रो हप्तामा हुने मुख्यमन्त्री सरोजकुमार यादवले बताएका छन् ।
उनले भने, ‘भारत सरकारबाट प्राप्त १ सय करोड अनुदान रकम र बाँकी मधेश प्रदेश सरकारको लगानी रहने स्टेडियमको डीपीआरको काम अगाडि बढाउने निर्णय भएको छ’ उनले भने, स्टेडियम निर्माणगरी ११ औं राष्ट्रिय खेलकुदको आयोजना गर्ने तयारीमा सरकार लागेको छ ।
त्यस्तै यस बैठकबाट असोज २१ गते प्रदेश सभाको बैठक आह्वान गरिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । त्यस अगावै मन्त्रालयहरुलाई कार्यविधि बनाउन र आवश्यक विधेयकहरु तयार गर्न मुख्यमन्त्री यादवले निर्देशन दिएको छ ।
असोजदेखि पर्व तिहार मनाउँदै विकास निर्माणको कार्यलाई अगाडि बढाइने भएको छ । विकास निर्माणको कार्यलाई नियमित रुपमा अनुगमन गर्न मुख्यमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिति गठन गरिने छ ।
यस समितिले ८ वटै जिल्लामा नियमित रुपमा अनुगमन गरी प्रतिवेदन सरकारलाई दिनेछ ।